नकाटेको लट्टा परेको कपाल, चिम्से आँखा, उत्तर दक्षिण फर्केको चुस्सा जुङ्गा दाह्री, जन्मजात नमाझेको पहेलो दाँत र थ्याप्चे नाक भएको झाँक्री कान्छाको उचाई मुस्किलले ४ फिट ५ ईन्च जतिको होला। तर, सात गाउँमा शक्ति भएको धामी हुन् भनेर उनको चर्चा परिचर्चा छ।
टाउको दुख्यो झाक्री कान्छा, पेट काटियो झाक्री कान्छा, सोला हान्यो झाक्री कान्छा, हुँदा हुँदा गाई, भैसी, बाख्रा, सुँगुर बिरामी हुँदा समेत झाक्री कान्छाले जोखाना नहेरी, झारफुक नगरी निको नहुने भो।
कात्तिकको महिनामा सबैले घरमा चिन्ता राखी कालो महिना कात्तिकको ग्रहदशा फाल्नु पर्ने। यो बेला झाक्री कान्छालाई मुन्दुमी चिन्ता राख्न अघिल्लो वर्षदेखि नै भाका राख्नु पर्छ भनौ अग्रिम बुकिङ गर्नु पर्छ नत्र पालो पाईंदैन। गाउँमा अरु धामी नभएका भने होईनन्। तर, गाउँलेहरुलाई झाक्री कान्छामाथि बढी विश्वास छ । यो समयमा झाक्री कान्छाले कुनै रात ३ घरसम्म चिन्ता बसेको छ ।
एक पल्ट त्यस्तै पहिलो घरमा अली सानो बैदाङ चिन्ता सकेर दोस्रो घरमा ठूलो चिन्ता सुरु भो । चिन्ता सुरु हुनुभन्दा अघि काँसे बटुकोमा मनग्गे रक्सि धामी, ढोले र तरखरेहरुलाई खाजा दिईयो । चिन्ता सुरु भो। पहिलो चरणको चिन्ता सकियो। ग्रह, खड्को शान्ति गर्न कालो भाले चाहिने, अण्डा चाहिने, भोगोटे चाहिने, केरा चाहिने… फटाफट जोखाना निस्कियो । चिन्ता बिसौनीमा धामी ढोलेहरुलाई फेरि रक्सि खाजा बाँडियो (यो चै चिन्ताको चरणै पिछे बाँडीरहनु पर्छ)
दोस्रो चरणको चिन्ता सुरु भो, तीनपाने रक्सिले रणक्कै भएका ढोलेहरुले रन्काएर ढोल ठट्टाउन थाले। यता धामी पनि जोडजोडले काम्न थाले । घरपति र चिन्ता हेर्न आउने छिमेकीहरुको कुनामा खासखुस गरेको सुनियो धामीको जीउमा ठूला ठूला देउता आएछन् । धामी जुरुक्कै उठे । बोक्सि डाम्न तामाको पुन्यूलाई आगोको भुङ्ग्रोमा तताएर रातो पारिएको थियो। त्यहि पन्यू हातमा लिएर पिर्लिक्…पिर्लिक्…पार्दै धामी नाच्न थाले । अचानक तातिएको तामाको पन्यू छेउमा सालको धुप बाल्दै गरेको प्याङदुरेको बाउको नाङ्गो फिलामा पर्यो, आथाथा… भन्दै प्याङदुरेको बाउ जुरुक्कै उठे, फिलामा पन्यूको डाम छपक्कै बस्यो । धामीले जहाई भनेर उनको फिला सुमसुम्याउन पुगे । प्याङदुरेको बाउ रुनु न हास्नु भो । दोस्रो चरणको चिन्ता पनि सकियो । अब अन्तिम ग्रह फाल्ने चरणको चिन्ता बाँकी रह्यो । बाहिर निस्पट अँधेरो औंसीको रात छ । धामी, ढोलेहरुलाई फेरी खाजा बाँडियो ।
अन्तिम चरणको चिन्ता सुरु भो, ग्रह र खड्को काट्न धामीले भनेअनुसारको सबै सामग्री तयार भो र बाहिर आँगनमा धामीले हट् भन्दा खड्को काट्न तरखरेहरु हातमा हतियार लिएर तयार भए । ढोल रन्किएर बज्दैथियो । धामी थालले अनुहार छोपेर ट्याङ ट्याङ बजाउदै, हल्का काम्दै आर्मा सेती, हावासेती गर्दै थिए खै के भो कोनी उनलाई अचानक थाललाई फुत्त फालेर हहह…. गर्दै जुरुक्कै उठेर जस्केलाबाट लुत्त बाहिर निस्क्यो र अँधेरोमा बेपत्ता भो । ढोले, धुपौरे, खड्को काट्ने, चिन्ता हेर्न आउनेहरु छक्क परे । सबै अक्क न बक्क भए । निकै बेर भो धामी फर्केर नआएपछि बाँसको पुल्ठो बालेर उनीहरु धामी खोज्न हिंडे ।
धामीलाई मर्नु पिसाबले च्यापेको रैछ, अनिंदो, तीनपानेको रन्को र दिनदिनैको चिन्ताले अर्ध पागल जस्तै भएको झाक्री नजिकैको बाँसको झ्याङमा पुगेर मुत्न थाले । मुतीसकेर उ चिन्ता बसेको घरमा फर्कन खोजेको अँध्यरोमा दिशा भ्रम भएर बाटो बिराई झगरे साईलाको घरमा पो पुगेछ । घर सुनसान देखेर झाक्री कान्छा अघोर बिच्के र ए…. मलाई चिन्ता बस्न बोलाएर तिमीहरु चै सुत्ने के हो हँ तिमीहरुको पारा… धामी चिच्याए। मस्त सपना देख्दै गरेको झगरे झाक्रीको आवाजले झसङ्गै भएर ब्यूँझे र तीन छक्क परे, त्यति नै बेला पुल्ठोबालेर धामी खोज्न आएकाहरुको कल्याङ मल्याङ सुनेर धामी भर्याङगै भो…र तुरुन्त सम्हालिएर भनेछ मलाई त वीर मसान र बोक्सिले पो दुख दिएर हौ….तर म पनि कहाँ छोड्थे यी यहाँसम्म खेदाएर भगाएरै छोडे हहहह…. धामी बेजोडले कामे ।
झाक्री कान्छाले बोक्सि र मसानलाई राति खेदेको कुरा भोलि बिहान डडेलो झै सात गाउँमा फैलियो । यसपछि त झन् गाउँमा झाक्री कान्छाको महिमा ह्वात्तै बढ्यो!!!
विनोद राई
केपिलासगढी गाँउपालिका, सुङदेल-७,खोटाङ, सगरमाथा नेपाल