रूखमा एउटा ढुकुर बस्ने गर्थ्यो। उ आफ्नो गुँडमा आरामदायी जीवन बिताइरहेको थियो। त्यो रुखमा अर्को एउटा बाँदर पनि बस्थ्यो। बाँदर घरबिना यताउता सुत्ने गर्थ्यो। एक दिन धेरै पानी पर्यो। चिसो हावाको कारण बाँदर उदास भएको थियो। उ पूरै भिजेको थियो।
ढुकुर गुँडमा लुकेर सुरक्षित बसेको थियो। उसलाई वर्षाले कुनै असर गरेन। पानी परेपछि ढुकुरले बाँदरलाई सम्झाउदै भन्यो– “बाँदर भाइ ! म जस्तै घर बनाएको भए तिमी यसरी पानीमा भिज्ने थिएनौ, न त चिसोमा तिम्रो हालत खराब हुने थियो। मेरो विश्वास छ भने, तिमी पनि मान्छे जस्तै घर बनाउ र बस्न थाल।
बाँदरले ढुकुरको कुरा सुन्यो। उसले जिस्काएको जस्तो बाँदरलाई लाग्यो। बाँदर रिसले रातो भयो अनि उसले ढुकुरको गुँड पनि फाली दियो। ढुकुरसँग रिषाउदै बाँदरले भन्यो, “यस्तो जाबोले मलाई सम्झाउन परेको छैन। अब तँ कहाँ बस्छस् म देख्छु।”
ढुकुरले आफ्नो गुँड भत्किएको देख्यो। रिषले रातो पिरो भयो ढुकुर। रिसाए पनि के नै गर्न सक्थ्यो। अन्तमा उसले फेरि एकपटक बाँदरलाई सम्झायो- बाँदर भाइ ! म फेरि मेरो गुँड बनाउँछु।
हो, ‘मूर्खलाई मनाउनाले आफ्नै हानि हुन्छ’ भन्ने पाठ मैले थाहा पाए। हामीले समझदार प्राणलाई बुझाउनुपर्छ। समझदारीमा विश्वास गर्नुहोस्। यति भन्दै ढुकुर त्यो रुखबाट उडेर टाढा अर्को रुखमा गुँड बनाएर बस्न थाल्यो।
– तपिकुमार सिंह ठकुरी
सिम्ता गाउँपालिका वडा नं.४ पिल्क, सुर्खेत।