News Portal

गाउँ – कविता

हिमालीसंचार संवाददाता
९९३ पटक

गाउँ त्यो हो
जहाँ डालीमा फूल
ह्रदयका हरेक पालीमा प्रेम
र करोडौं ढुकढुकीहरूमा देश फुलेको हुन्छ !

फूलको मुस्कान बोकेर
जहाँ उदाउँछ
हरेक विहान एउटा प्रदिप्त घाम
जीवनका नक्साहरू कोरेर
जहाँ करूणा बग्छन्
गतिशीलता कल्कलाउने नदीहरू
विश्वासका भारीहरू बिसाएर
जहाँ उभिएका छन्
तरेलीझैँ लस्करै जिउँदा पहाडहरू
वनेली गीतका अन्तरा टिपेर
जहाँ साँझमा गाउँछन्
चराहरूले पिरतीका सुरिला भाकाहरू
र सपनाका रङहरू पोतेर
जहाँ राताम्मै फुल्छन्
चिमालका पोथ्राहरूमा जीवनका फूलहरू !

हो त्यही किनारामा छ
मेरो कस्तुरी गाउँ
शान्त स्निग्ध ध्यानस्त दार्शनिकजस्तो
र त्यहीबाट निस्किएको हो
यो आकाशको सप्तरङ्गी आधा इन्द्रेणी पनि !

यही गाउँमा छन्
आरन फुकेर
देशको सुरक्षा गर्ने प्रधान सेनापतिहरू
दबदबे हिलोमा ओर्लिएर
रोपाइँ गरिरहेकी महामहिम राष्ट्रपति
विहानै हलगोरू नारेर
बाँझो फुटाइरहेका छापामार छोरीहरू
बुढो चौतारीमा बसेर
न्याय सुनाइरहेका न्यायाधीशहरू
काँधमा नाम्लो झुण्ड्याएर
विश्वविद्यालयमा पढाइरहेका प्रेफेसरहरू
र घाँस-दाउरा बोकेर
वनबाट फर्किरहेका पारिजात आमाहरू !

यहीँ बज्ने गर्छ
जीवनको त्यो आदिम सङ्गित
यहीँ गाँस्ने गर्छन्
प्रेमीहरूले जुगजाने पिरतीको माला
यहीँ वयली खेल्छ
पाकेको धानको सुगन्ध बोकेर बतास
यही गाउँमा छन्
विश्वास रसाउने जरूवाहरू
र मनभरि फुलेका विद्रोही गुराँसहरू !
यहीँ फक्रिने गर्छन्
नानीहरूका ओठमा खुसीहरू
र तन्नेरी आँखामा सपनाका थुँगाहरू !
बुढाबुढीको अनुहार हेरेर
हो यही गाउँमा टक्क रोकिन्छ
मैतालु फर्किँदै गरेको – त्यो आकाशको चन्द्रमा !

एका विहानै गाउँ
चिबेचरीको कोरससँगै व्युँझिन्छ
र पौरखको लालीमा ओढेर
श्रमशिविरमा पुग्छ – जीवनको उत्सव मनाउन !
जङ्गली चराहरूको लय चोरेर
पेटमा सुम्ला उठुञ्जेल
एउटा उन्मुक्त हाँसो हाँस्छ गाउँ
र पीडाको डाहा मेटाउन
आँसुका कुवाहरू रित्याउने गरी
सँगसँगै रून्छ गाउँ – रोधीघर साक्षी राखेर !
गाउँ शहरजस्तो हुँदैन
जहाँ हाँस्नलाई अनुमति चाहियोस्
र रूनलाई पनि थोरै आँसु सापट लिनुपरोस् !

शहरले भोकमारी बेचेर
चाडवाडहरूमा मुनाफा कमाउँछ
तर गाउँ हार्दिकता रोपेर
आफैँ जमरा उम्रिन्छ
र मखमली बनेर तिहार फुल्छ !
गाउँमै फर्फराउँछ
धानचमराका टुप्पामा सिंहदरवारको झण्डा
गाउँमै गुनगुनाउँछन्
हलो जुवाले यो देशको राष्ट्रीय गीत
गाउँमै लेख्ने गर्छन्
बाउसेहरूले विश्वविद्यालयका शोधपत्रहरू
र गाउँमै पोया लगाइन्छन्
यो देशका राष्ट्रियताका जोताराहरू पनि !

गाउँमा ह्रदयको भाषा हुन्छ
मनको गणित हुन्छ
ह्रदयकै ग्राफहरू खिचिन्छन्
र मनकै क्षेत्रफल र परिधि निकालिन्छन् !
गणितका हरेक सुत्रहरू
गाउँमा निस्काम हुन्छन्
किनकि :
गणितले सङ्ख्या र चरको भाषामात्र बुझ्छ !
अहँ !
कुनै उत्तर छैन गणितसँग
गाउँको क्षेत्रफलको विशालता कति छ
कुनै तर्क छैन गणितसँग
गाउँबाट गाउँ घटाउँदा किन गाउँ नै बाँकी रहन्छ ?

हेर्नुस् त ऊ माथि
निम्बस बादल सेताम्मै फुलेको छ
आज फेरि गाउँले सम्झिएर
कस्तरी बाडुल्की चल्यो – के तपाइँलाई चलेन ?

✍ प्रथा

(हामीलाई रचना पठाउने इमेल ठेगाना
[email protected])

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...