News Portal

गाउँ – कविता

हिमालीसंचार संवाददाता
९४५ पटक

गाउँ त्यो हो
जहाँ डालीमा फूल
ह्रदयका हरेक पालीमा प्रेम
र करोडौं ढुकढुकीहरूमा देश फुलेको हुन्छ !

फूलको मुस्कान बोकेर
जहाँ उदाउँछ
हरेक विहान एउटा प्रदिप्त घाम
जीवनका नक्साहरू कोरेर
जहाँ करूणा बग्छन्
गतिशीलता कल्कलाउने नदीहरू
विश्वासका भारीहरू बिसाएर
जहाँ उभिएका छन्
तरेलीझैँ लस्करै जिउँदा पहाडहरू
वनेली गीतका अन्तरा टिपेर
जहाँ साँझमा गाउँछन्
चराहरूले पिरतीका सुरिला भाकाहरू
र सपनाका रङहरू पोतेर
जहाँ राताम्मै फुल्छन्
चिमालका पोथ्राहरूमा जीवनका फूलहरू !

हो त्यही किनारामा छ
मेरो कस्तुरी गाउँ
शान्त स्निग्ध ध्यानस्त दार्शनिकजस्तो
र त्यहीबाट निस्किएको हो
यो आकाशको सप्तरङ्गी आधा इन्द्रेणी पनि !

यही गाउँमा छन्
आरन फुकेर
देशको सुरक्षा गर्ने प्रधान सेनापतिहरू
दबदबे हिलोमा ओर्लिएर
रोपाइँ गरिरहेकी महामहिम राष्ट्रपति
विहानै हलगोरू नारेर
बाँझो फुटाइरहेका छापामार छोरीहरू
बुढो चौतारीमा बसेर
न्याय सुनाइरहेका न्यायाधीशहरू
काँधमा नाम्लो झुण्ड्याएर
विश्वविद्यालयमा पढाइरहेका प्रेफेसरहरू
र घाँस-दाउरा बोकेर
वनबाट फर्किरहेका पारिजात आमाहरू !

यहीँ बज्ने गर्छ
जीवनको त्यो आदिम सङ्गित
यहीँ गाँस्ने गर्छन्
प्रेमीहरूले जुगजाने पिरतीको माला
यहीँ वयली खेल्छ
पाकेको धानको सुगन्ध बोकेर बतास
यही गाउँमा छन्
विश्वास रसाउने जरूवाहरू
र मनभरि फुलेका विद्रोही गुराँसहरू !
यहीँ फक्रिने गर्छन्
नानीहरूका ओठमा खुसीहरू
र तन्नेरी आँखामा सपनाका थुँगाहरू !
बुढाबुढीको अनुहार हेरेर
हो यही गाउँमा टक्क रोकिन्छ
मैतालु फर्किँदै गरेको – त्यो आकाशको चन्द्रमा !

एका विहानै गाउँ
चिबेचरीको कोरससँगै व्युँझिन्छ
र पौरखको लालीमा ओढेर
श्रमशिविरमा पुग्छ – जीवनको उत्सव मनाउन !
जङ्गली चराहरूको लय चोरेर
पेटमा सुम्ला उठुञ्जेल
एउटा उन्मुक्त हाँसो हाँस्छ गाउँ
र पीडाको डाहा मेटाउन
आँसुका कुवाहरू रित्याउने गरी
सँगसँगै रून्छ गाउँ – रोधीघर साक्षी राखेर !
गाउँ शहरजस्तो हुँदैन
जहाँ हाँस्नलाई अनुमति चाहियोस्
र रूनलाई पनि थोरै आँसु सापट लिनुपरोस् !

शहरले भोकमारी बेचेर
चाडवाडहरूमा मुनाफा कमाउँछ
तर गाउँ हार्दिकता रोपेर
आफैँ जमरा उम्रिन्छ
र मखमली बनेर तिहार फुल्छ !
गाउँमै फर्फराउँछ
धानचमराका टुप्पामा सिंहदरवारको झण्डा
गाउँमै गुनगुनाउँछन्
हलो जुवाले यो देशको राष्ट्रीय गीत
गाउँमै लेख्ने गर्छन्
बाउसेहरूले विश्वविद्यालयका शोधपत्रहरू
र गाउँमै पोया लगाइन्छन्
यो देशका राष्ट्रियताका जोताराहरू पनि !

गाउँमा ह्रदयको भाषा हुन्छ
मनको गणित हुन्छ
ह्रदयकै ग्राफहरू खिचिन्छन्
र मनकै क्षेत्रफल र परिधि निकालिन्छन् !
गणितका हरेक सुत्रहरू
गाउँमा निस्काम हुन्छन्
किनकि :
गणितले सङ्ख्या र चरको भाषामात्र बुझ्छ !
अहँ !
कुनै उत्तर छैन गणितसँग
गाउँको क्षेत्रफलको विशालता कति छ
कुनै तर्क छैन गणितसँग
गाउँबाट गाउँ घटाउँदा किन गाउँ नै बाँकी रहन्छ ?

हेर्नुस् त ऊ माथि
निम्बस बादल सेताम्मै फुलेको छ
आज फेरि गाउँले सम्झिएर
कस्तरी बाडुल्की चल्यो – के तपाइँलाई चलेन ?

✍ प्रथा

(हामीलाई रचना पठाउने इमेल ठेगाना
[email protected])

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...