चितवन – चितवनको भरतपुर महानगरपालिका भरतपुरको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् ।
भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२०३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९५८१ मत मात्र पाए । दाहालले १२४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् ।
यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४७२८ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२१९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३०१९१ मत मात्र आएको छ । ०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । अहिले पनि मेयर माओवादी र उपमेयर काँग्रेसले जितेको छ ।
यस्तै काँग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । काँग्रेसले १,२,४,५,६,८, १०, १४,१५, १६, १७, २०,२१, २३, २७ र २९ मा वडाध्यक्ष जितेको हो । यस्तै माओवादी केन्द्रले १३, २४ र २६ गरी तीन वडाध्यक्ष जितेको छ भने एकीकृत समाजवादी पनि ७, ९ र २२ गरी तीन वडामा विजयी भएको छ । एमालेले एमाले ३, ११, १२, १८, १९ र २८ गरी ६ वडा जित्दा २५ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेको छ ।