News Portal

कुवेतबाट फर्किएका रामेश्वर पुष्पखेतीमा रमाउँदै

७९६ पटक

ईश्वरकाजी खाइजू 
भक्तपुर – भक्तपुरको चाँगुनारायण नपा ९ ताथलीस्थित डाँडापाटीका रामेश्वर बासी पैसा कमाउन भनी २०५३ सालमा कुवेत गए। त्यहाँ कोरियाली कम्पनीमा हेल्परको काम गरे। कुवेतमा २८ महिना काम गरे। तर सोचेजस्तो कमाइ भएन। घर फर्किए। घरमा परिवारले बसिटिक्न दिएनन्।

६ महिनापछि फेरि साउदी अरेबिया पुगे। त्यहाँ चालकसँगै प्लान्ट अपरेटरको काम पाए। तलब कम थिएन। चर्को गर्मीबीच त्यहाँ ४ वर्ष काम गरे। तर किन हो, विदेशमा काम गर्न चित्त बुझिरहेको थिएन। फेरि घर फर्किए।

१ वर्ष जति घरमा बसे। घर बस्दा पनि खाली हात कहिल्यै बसेनन्। पुख्र्यौली जग्गाजमिन छँदै थियो। त्यहीं हात चलाएका थिए। तैपनि विदेशमा गएकालाई परिवारले घरमै बसेर काम गरेको देख्न मनपराउँदैनन्। त्यसैले फेरि कामकै सिलसिलामा यूएईको दुबई पुगे। त्यहाँ साउदीमा गरेकै काम पाए। दुबई साउदीभन्दा कम गर्मी थिएन। त्यहाँ २६ महिना काम गरेर फेरि नेपाल फर्के।

यसपटक देशमा लामै समय बसे। दुबईमा काम गर्दा त्यहाँका किसानले कृषि उत्पादनको लागि गरेको दुःखबाट रामेश्वर प्रभावित भए। उनले मनमनै नेपाल फर्केर आफ्नै माटोमा केही गर्ने योजना बनाए। नभन्दै दुबईबाट फर्केपछि खुर्सानी टिपेर त्यत्तिकै राखिएको ड्याङमा काउली रोपे। केही सय रुपैयाँको काउली राम्रो भएर करिब १० हजार रुपैयाँ आम्दानी गरे।

डाँडापाटी क्षेत्रमा व्यवसायिक काउली रोपेर यति धेरै कमाइ गर्ने आफ्नो परिवार पहिलो भएको उनले दावी गरे। एकपटक राम्रो आम्दानी भएपछि अर्को वर्ष पनि त्यहीं खेती गरेको उनले सुनाए। ‘काउलीबाट फाइदा देखेर अरुले समेत सिको गरे’, उनले भने, ‘तर म घरमा टिक्न सकिनँ।’

उनी वैदेशिक रोजगारीकै लागि अफगानिस्तान पुगे। त्यहाँ अमेरिकी सेना मातहत रहेर साउदी र दुबईमा गरेकै कन्क्रिट अपरेटरको काम गरे। आन्तरिक द्वन्द्वमा फसिरहेको थियो अफगानिस्तान। यस्तो देशमा काम गरेवापत उनले महिनामा २ लाखसम्म कमाउँथे। कामको बीच बीचमा घर फर्किरहेकै थिए। तैपनि त्यहाँ ४४ महिनाभन्दा बढी बस्न सकेनन्। अफगानिस्तानबाट उनी विदेश नजाने निश्चय सहित नेपाल आए।

नेपाल आएलगत्तै पुष्पखेतीबारे तालिम लिए। १ वर्ष त्यसकै तयारीमा जुटे। २०७२ सालमा एभरेस्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म प्रालि दर्ता गरे।  आफ्नै १ रोपनी जग्गामा व्यवसायिक पुष्पखेती सुरु गरे।

एउटा टनेलमा जर्बेरा, कार्नेस जस्ता सजावटका फूलका विरुवा रोपे। नेपालमा व्यवसायिक पुष्पखेती कममात्रै छ। बजारमा अहिले पनि भारतबाट आयात भइरहेको छ। उनको उत्पादन बजारमा नजाने कुरै थिएन। माग बढेको बढेयै भएपछि दुई रोपनीमा खेती विस्तार गरे।

२ रोपनीमा पुष्प खेती विस्तार गरेपछि लगानी पनि करिब २५ लाख पुग्यो। ‘फूलको बीउ नेपालमा उत्पादन हुँदैन। सीधै विदेशबाट मगाउनुपर्छ’, उनले भने, ‘टनेल बनाउन पाइप, प्लास्टिक, झूललगायत पनि विदेशबाट ल्याउनुपर्ने बाध्यता छ।’

फूलमा रोगकीराले दुःख दियो भनेसमेत उपचार गर्ने विषादी नेपालमा उत्पादन नभएको उनले सुनाए। उनका अनुसार पुष्पखेतीका प्राविधिकसमेत नेपालमा हातका औंलामा गन्न पुग्ने पनि छैनन्।

‘त्यसैले व्यवसायिक पुष्पखेती महंगो छ’, उनी भन्छन्, ‘तर आम्दानी पनि कम छैन। खेती सुरु गरेको ३ वर्षमै लगानी पूर्ति भए पनि १५ लाख रुपैयाँ चोखो कमाइ भयो।’

उनका अनुसार फूल फुल्न थालेपछि हप्तामा दुईपटक बजार लान ठिक्क हुन्छ। ‘दुई रोपनीमा फुलेको फूलबाट महिनामा करिब १ लाख कारोबार हुन्छ’, उनले थपे, ‘कारोबारको ३० प्रतिशत खर्च मानिए पनि ७० प्रतिशत चोखो आम्दानी हो।’

यति कमाइ गर्न आफैले मेहनत गर्नुपर्ने उनको स्पष्टोक्ति थियो। पुष्पखेती अरु खेती जस्तो गार्हो‍ नभएकाले आफ्नै परिवार सम्मिलित भएर गर्न सकिने उनको भनाइ थियो।

व्यवसायी बासी बजारमा फूलको मूल्य स्थिर नभए अझ बढी कमाइ हुने हुँदा सुनाउँछन्। बजार भाउसँगै फूलको मूल्य पनि बढे यसबाट अझ बढी कमाइ गर्न सकिने उनले स्पष्ट पारे।

‘जति बढी क्षेत्रफलमा फूल खेती गर्न सकिन्छ, त्यति नै बढी कमाइ हुन्छ’, उनले भने, ‘४० लाख रुपैयाँ लगानी बढाएर थप चार रोपनीमा टनेल निर्माण गरिरहेको छु।’

त्यसमा जर्बेरा र कार्नेसनसँगै लिमोनियम, गुलाफ र स्टाटिक्स जातका व्यवसायिक फूल लगाउने उनले सुनाए। पुष्पको खेतीको संरचनाको मात्रै बीमा गर्न सकिए पनि व्यवसायी कहिल्यै घाटामा नजाने उनको भनाइ थियो।

‘पुष्पखेतीमा करोडौं रुपैयाँको संरचना निर्माण गर्नुपर्छ’, उनी भन्छन्, ‘दुई वर्षअघि आएको हावाहुरीले काठमाडौं उपत्यकाका पुष्प व्यवसायीहरुको करोडौंको संरचनामा क्षति पुरायो। त्यसैले त्यसको बीमा गर्न सकिए घाटा हुनबाट बच्न सकिन्छ।’

नेपालमै बीउ उत्पादन गर्न सकिए पुष्पखेतीबाट धेरैभन्दा धेरै आम्दानी हुन सकिने व्यवसायीहरु बताउँछन्। विदेशमा पहिल्यै पैसा पठाए पनि कम्तीमा दुई महिनाअघि बीउ पाउन नसकिने उनीहरुको भनाइ छ। बीउदेखि टनेका सबै कच्चा पदार्थमा परनिर्भर नेपालको पुष्पखेती फूलको बजारसमेत परनिर्भर रहेको छ। त्यसैले सरकारी तहबाट बीउ उत्पादन गरेर युवालाई यसमा आकर्षित गर्न सकिए रोजगारीको लागि विदेसिने युवा र करोडौं रुपैयाँ रोक्न सकिने व्यवसायीहरु दावी गर्छन्। अन्नपूर्णपोस्ट

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...