ह्रदयको दैलो ढप्क्याएपछि लाग्छ ढप्प गरी
निभ्न लागेको धिप्री पनि त बल्छ धप्प गरी !
गणितभन्दा बाहिर हुन्न जिन्दगीको हिसाब
विचारको नदी रोकेर पनि रोकिन्न ठप्प गरी !
स्वार्थकै भाषा मान्छे बोल्छ स्वार्थले गलेसी
खसीको गर्दन थुमथुम्याउँछ बगरे थप्प गरी !
दुखी हुन केही चाहिन्न अहङ्कार भरे पुग्छ
पीडा पनि भरिएपछि आँसु खस्छ तप्प गरी !
स्वयंलाई भरोसा जगाई हेर जीवन दिव्य छ
शङ्का गरे विश्वास पनि काटिन्छ छप्प गरी !
आफैँभित्र छन् दुश्मन व्यर्थै बाहिर खोज्छौ
फूल पनि त मालीकै हात टिपिन्छ टप्प गरी !
✍प्रथा।