खबर पाउँछौ कि पाउन्नौं कुन्नी !
मेरो भोकको आज रमिता छ, हेर्न आउनु
भातको लोभमा म रमिता भएको छु – शहरमा
धेरै भयो सरकार
अखबारमा तिम्रो रमिता पढेको
शंख धुनजस्तै लाग्छ एफएमको समाचार
वेवारिसे लासजस्तै लाग्छ सडकमा पल्टिएको पत्रिका
माइक लगाएर पढिएको पुराण झैं लाग्छ टीभीमा तिम्रा खबर
हामी दर्शक छौं-श्रोता छौं
तिम्रो बेसरम रमिताको
अहिले म पनि बेसरम भएको छु भोकले
आउनु, पजेरो चढेर
मेरो बेसरम भोक हेर्न
आज रमिता छ, हेर्न आउनु
भातको लोभमा म रमिता भएको छु – शहरमा
फरक यत्ति हो
भोक बोकेर मसँगै टाँसिएको पेट
बारुदहरुमा जीवनको रंग देखेर आएको हो
रन्थनिएको छु, यतिबेला भोकको रंग नबुझेर
मेरो भोकमा तिमी
क्यालकुलेटरको डिजिटमा कालो रंग देखिरहेका छौं
म भर पेट भात खोज्दै
कसैले छोडिगएको
रंग खुइलिएको कम्युनिष्ट झण्डामुनी छु
मेरो अनुहारमा
तिम्रो बदलिएको रंग हेर्न टुँडीखेल आउनु
आज रमिता छ, हेर्न आउनु
भातको लोभमा म रमिता भएको छु – शहरमा
आउनु र निश्चित गर्नु
आँसुले भात मुछेर खानेहरु तिम्रा कुनै वंशज होइनन्
दयाको भात खाने तिम्रा ससुराली होइनन्
होइनन् मावली पनि
हेलिकप्टरबाट फूल बर्साउने शहरमा
आज रमिता छ, हेर्न आउनु
भातको लोभमा म रमिता भएको छु – शहरमा
– जनक ऋषि राई, धरान।