अरे..!! ठ्याक्कै हाम्रो नेता ज्यू जस्तै पो देखिनु हुन्छ त। को पर्नु भो हजुर..? कि गाँउमा नँया आउनु भयो? (आफ्नै घर अगाडिको रोड भित्रकै खाल्डोमा लडेर उठ्दै गरेको मान्छे ठम्याउन नसकेर चश्मा निकालेर पुस्दै भनिहाले।)
नेता– लौ..! के कुरा गर्छौ ए राधेश्याम..? म तिम्रै नेता त हो नी। कि चिनेनौ हँ मलाई..?
धनश्यम– अरे.. हो त रैछ त। म त झण्डै चिन्नै सकिन। अनि हजुरलाई त अझै सम्झना रैछ मेरो नाम, घरको ठेगना पनि पो याद रैछ त।
नेता– लौ.! अब तिमी जस्तो पार्टीको होनहार युवालाई म कसरी भुलौ त ..? उ बेला ज्यान देको थियौ तिम्ले।पार्टीको भोटमा आफ्नै दाजुभाईसँग लड्न तयार थियौ। अनि मैले चुनाव जितेपछि तिम्रै घरमा त, होनी पार्टी खुवाको केटाहरुलाई, अनि घरको ठेगना कसरी भुलौ त म..?
धनश्यम– ए… हो त। अनि चुनाव जितेर गएपछि फर्केर हेर्नुभएन, पैला फ्याटफ्याटे चप्पलमा भोट माग्दै हिँडेको मान्छे अहिले यस्तो टलक्कै आफ्नै अनुहार देखिने जुत्ता लाएर आउनु भएछ, अनि पहिरनमा पनि उत्ति नै फरक आएछ, भेटघाट नभाको नि बर्षौ नै भयो, कसरी चिन्नु र हजुरलाई..?
नेता– खै साह्रै व्यस्त भइदो रैछ यो राजनितीमा लागे पछि त ।कोइबेला त खान पनि पो भ्याइदैन भन्या।
धनश्यम- हन अनि त्यति व्यस्त मान्छे आज यता कसरी बाटो बिराउनु भो..?
नेता– ए… यँही पल्लो टोलको घरघरमा राहत बाँड्ने काम थ्यो।माथीबाट ठूला मन्त्री पनि आका छन् नि त। अनि बाटोको खबर समचारमा हेरियो र हेलिकप्टरमै पो आइयो, यसो अनुभव पनि हुने अब पछि अलि ठूलै मन्त्री भइयो भने त……
धनश्यम– अनि खोई त ठूलाबडा नेता चाही? कोही देख्दिन त पछाडि त….
नेता– अरु त पर तिरै छन्। त्यँहा १, २ घर अर्को पार्टीका रैछन्, त्यै भएर म त हिँडे पो। सञ्जालमा हाल्दा जनताले मसँग गर्व गर्न सक्ने खाल्को फोटो होस् भनेर २, ४ घरमा चाही राहत थाप्ने र म मात्रै आउने गरी राहत बाँडेको फोटो लिन लगाए। अनि यसो तिम्रो याद आएर गाँउ आको बेला भेट्न आको नि।
धनश्यम– ए.. लौ गज्जब भएछ। तर अब आउने चुनावमा त हजुरले आश नगर्दा हुन्छ। सजक र चेतनशील भैसके जनता अब, हजुर त गएदेखि एकपटक फर्केर हेर्या होइन आफ्नो चुनाव क्षेत्र, अब सही व्यक्ति चुन्ने हो भन्ने चेतना आईसक्यो जनतामा..
नेता– हा…हा तिमी चिन्ता नलेउ न राधेश्याम । चुनाव त आओस् जति नै चेतनशील भए पनि त्यतिबेर जनतालाई व्यक्ती भन्दा पार्टी प्यारो हुन्छ। फेरी मान्छे एकोहोर्याउने गफ र सपनाको के हर्जा छ र मसँग..? त्यसमाथि मेरो पार्टीका मिडियाहरु जताततै छन्। तै पनि मलाई जिताएनन् भने पनि केही गुनासो छैन, यो जुनीलाई पुग्दो जोडी हाले अरु के पो चाहियो र..?
धनश्यम– अरे बाफ्रे..!! भनेपछि त भयङ्कर नै कमाउनु भा रैछ कि क्या को है..??
नेता– हैन.. कमाउनु त के भयङ्कर भनौ र.. आफूलाई चाही पुग्दो छ। अब २वटा छोराहरु थ्यो एउटालाई सरकारी बैङ्कमा नाम निकालिदेको छु, अर्कोलाई विदेश पठाको छु पढाउन, छोरी अलि सानै छे नेपालमै होस्टलमा बसेर पढ्दै छे, श्रीमतीलाई पनि सरकारी बिद्यालयमा नाम निकालिदेको छु।
धनश्यम– हैन…हजुरले नाम निकालिदिएर हुन्छ र..? योग्यता चाहि कति कति हो र..?
नेता – अब, केको योग्यता चाहियो तिम्लाई चाही त्यो बेला पास गराउनेहरुलाई त केही चाहिएन, तिमी खुब योग्यता खोज्ने…हात्तीको बिटो कम छ र मसँग..?
धनश्यम– ए… साँच्चै त। म भुसुक्कै बिर्सदो रैछु। अब हात्तीको बिटो भए सी जे काम पनि छि-छिटो भैहाल्छ त्यसमाथि हजुर त माननिय पर्नु भो
नेता– अनि जान्या रैछौ त के योग्यता खोज्छौ नि..??
धनश्यम– माफ पाऔँ न नेता ज्यू..! भुल भै हाल्छ नि कहिलेकाँही त, म पनि मान्छे नै हो क्यारे..!!
नेता– उम… मेरो पार्टीको भएर माफ, नत्र त मैले जान्या थेँ…
धनश्यम– हैन, नेता ज्यू, हजुरको पार्टीकाले काम बिगार्दा नि सजाय पाउदैन हो.???
नेता– सजाय नपाउने भन्दा पनि उसको अपराध ढाकछोप गरेर सजाय कम गरिदिन सक्छौ, यदि हाम्रो पार्टीको मान्छे हो भने मात्र।
धनश्यम– ए… लौ त अब ठुलो मान्छे हुनुभो हजुर त सब जनताको प्यारो नभए नि अर्थको प्यारो हुनु भो। आउदा दिनको लागि नि शुभकामना हजुरलाई…
नेता– हा…हा ल धन्यवाद राधेश्याम तिम्लाई पनि। अब व्यस्त छु म जान्छु पनि अब, बाटो अलि बिग्रेको रैछ समय लाग्छ पर हेलिकप्टर भए ठाँसम्म पुग्न। ल म हिँडे है त राधेश्याम बसी खाउ।
धनश्यम– हवस् त नेता ज्यू! आइदिनु भो खुशी लाग्यो, आश्वासनको पोका बाँड्ने बेला फेरी आउनुहोला है त।
नेता– ए… ल,ल राधेश्याम ।
अञ्जिला थामी “अर्पना” सूर्योदय नगरपालिका १ ईलाम