जिस्क्याएझैँ लाग्छ मलाई जूनले आजभोलि
व्याकुल पार्छ किन होला धुनले आजभोलि
मानवता हराएर स्वार्थ हाबी भयो
चिनिँदैन मान्छे पनि गुनले आजभोलि
शिक्षा मात्र अजम्मरी धन हो भन्थे गुरु
पाएको छ महत्त्व त सुनले आजभोलि
बाडुली पो सम्झनाको चिनो भएको छ
ढुकढुकी पठाउँदैनन् उनले आजभोलि
फूललाई बिम्ब भनौँ या दियोलाई प्रतीक
अर्थ देला कवितामा कुनले आजभोलि।।
– दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक