नेपाली दूतावास बेलायतमा शान्ति पूजा, हाल सम्मकै ठुलो धार्मिक कार्यक्रम

बेलायत । नेपाली दूतावास लन्डनस्थित कूटनीतिज्ञहरुले गत मंगलबार वैदिक सनातन विधि अनुसार एक धार्मिक अनुष्ठान आयोजित कार्यक्रममा शान्ति पूजा गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित बेलायतस्थित नेपालीहरुको शान्तिको कामना गर्दै बेलायतका ६ जना पण्डितद्वारा पञ्चांग देवताको प्राणप्रतिष्ठा एवम् स्थापना गरेका छन् ।
नेपाली दूतावास परिसरमा सन् ३ अगष्ट १९९२ का दिन तत्कालिन राजदूत भारतकेशर सिंहले स्थापना गरेको मन्दिरमा हाल सम्मकै सबैभन्दा ठूलो धार्मिक कार्यक्रम भएको पण्डित निलहरी घिमिरेले बताए । उक्त मन्दिरका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बर्माबाट ल्याइएको नवरत्न जडित पञ्चदेवको तस्वीरमा ६ जना आचार्य पण्डितहरुको उपस्थितिमा प्राणप्रतिष्ठा स्थापना गरी पुजा गरेका हुन् ।
पञ्चांग देवताका रुपमा गणेश, दुर्गा, शिव, विष्णु र सूर्य प्रसिद्ध रहेका छन् । यी पाँच देवहरूको उपस्थितिले पञ्च तत्वमा आउने उतारचढावमा नियमितता बन्ने र घरको वास्तु स्थिर रहने जनविश्वास रहेको हुँदा सनातन धर्मावलम्बीहरूले आफ्ना घर घरमा स्थापन पूजा गर्ने प्रचलन रहेको छ।
आयोजित समारोहमा पण्डित निलहरि घिमिरे, आचार्य दुर्गाप्रसाद पोख्रेल, गोविन्द नेपाल, आचार्य नारायण पौडेल ‘गाउँले’, आचार्य शेखर काफ्ले शाण्डिल्य र विनोद पन्थीले पुजा गरेका थिए । समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी एवम् श्रीमती पुनमराज्यलक्ष्मी सुवेदीद्वारा मुख्य कर्ताका रुपमा पूजा अर्चना गरेका हुन् ।
स्वास्ति बाचनबाट पुजा शुभारम्भ गरी श्रीरुद्राभिषेक, गीतापाठ, विष्णुसहस्रनामपाठ, चण्डीपाठ, यजुर्वेद पाठपारायण, नवग्रहपूजन, हवन, भजन कीर्तन गरी प्रीति भोजका साथ कार्यक्रम समापन गरेका थिए । राजदूत सुवेदी र श्रीमती सुवेदीले उपस्थित गुरुहरूलाई सम्मान गर्दै आभार समेत व्यक्त गरेका थिए ।
बेलायतवासी नेपालीहरुको उपस्थितिमा गर्ने तयारी गरिएको उक्त पूजा कार्यक्रम कोरोना महामारीका कारण नेपाली दूतावास परिवारमा मात्र सिमित रहेका थिए। ‘लगभग चार वर्षको कार्यकालमा राजदूतावासमा धेरै किसिमका कार्यक्रम सम्पन्न भए, बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुका साथ भव्य रुपमा एउटा धार्मिक अनुष्ठान गर्ने योजना अधुरै रह्यो’- बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीले भने ।
‘समय र परिस्थितिका कारण आफ्नो सपना पूरा नभएपनि दूतावास परिवारमाझ समस्त बेलायतवासी नेपालीहरुको सुख शान्ति र सम्वृद्धिको कामना गर्दै शान्ति पूजा गर्न सम्भव भएको छ, यसलाई पनि आंशिक सफलता ठानेको छु’- सुवेदीले भने ।
यस्ता खालका सांस्कृतिक, धार्मिक कार्यक्रम पनि राजदूतावासको महत्वपूर्ण कार्यक्रम रहेको र यसले नेपालको संस्कृतिको परिचय र विस्तारमा महत्वपूर्ण योगदान दिनेमा विश्वस्त रहेको सुवेदीले बताए । यस मन्दिरमा स्थापनाकालदेखि दशैं पूजा र सामान्य धुप बत्ती बाल्ने बाहेक कुनै औपचारिक पाठपूजा भएको थिएन ।
















