२०७७ असार १५, सोमबार
गोपाल शर्मा/दाङ – दाङमा सोमबार थप ५८ जना कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दुईजना सैनिकसहित ५८ जनामा कोरोना पुष्टि भएको हो।
जिल्लाका दशैवटा पालिकामा कोरोना संक्रमण देखिएको छ। दंगीशरण गाउँपालिकामा सोमबार दुईजनामा कोरोना पुष्टि भएसँगै सबै पालिकामा कोरोना संक्रमण देखिएको हो।
सोमबार घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ७ जना, गढवा गाउँपालिकाका २२ जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, शान्तिनगर गाउँपालिकाका २ जना, राप्ती गाउँपालिकाका ५ जना, बबई गाउँपालिकाका १० जनामा कोरोना पुष्टि भएको छ।
योसँगै दाङमा ५ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले जिल्लामा नेपाली सेनासहित ५ सय ५७ जनामा कोरोना संक्रमण भएको बताएको छ।