२०७७ जेठ ४, आइतबार जो,
काँधभरि बाबुको विश्वास
र निदारभरि आमाको आशीर्वाद लिएर गएका थिए
छातीमा लतपतिएको वधू-प्रेम
र पाखुरासँगै सन्तानको सिरानी बोकेर गएका थिए
फर्कदा,
उतै छोडेर यौवन
सकेर जम्मै जोश
आखाँभरि
व्याकुल तस्बिर लिएर फर्केकाछन्
– विमानले खुसी पोल्ने चिहानमा लगिदिएछ
जहाँ आफैलाई तर्साइरहने
आफ्नै सुनौला सपनाहरु मसान भैदिएछन्
यही सत्य देखेर
म देश पढ्न सुरु गरेको हुँ
– झरनाहरु
जहाँ, पानीका थोपाबाट इन्द्रघनुष झिक्न सिकाउँछ रवि
– खेतहरु
जहाँ, पसिना रोपेर हिरा फलाउन सिकाउँछ किसान
सोध्नु,
बदलिरहने ऋतुहरुलाई
डुलिरहने बादलहरुलाई सोध्नु
वर्षौ यही उभिएर
सिकेको हु जिन्दगीमा रङ भर्न
अँजुलीमा पसिना खसालेर
जूनलाई निदारमा टास्न
यही सिकेको हुँ
नदीहरु छन् प्रशस्तै
निभाउँछु भोकको आगो
हिमालबाट झिकेर चिसो हिउँ
निको पारिदिन्छु देशको घाउ
चक्रे लिपिमा
लेखिएको छ हरेक शालिग्रामहरुमा
सतीले श्रापेको
होइन मेरो देश
ईश्वरहरुको पाठशाला हो ।
✍️ रोशन पुन, बाग्लुङ