News Portal

  • डायरीभित्र र बाहिरको जननायक रामप्रसाद राईः आशकुमार राई

    हिमालीसंचार संवाददाता
    ८० पटक

    ऐतिहासिक महत्त्‍वका पात्र रामप्रसाद राईका बारेमा धेरै आलेख लेखिए र पुस्तकहरू पनि प्रकाशित भए । तर, धेरै रचनामा उनको वैचारिक स्पष्टता नपाइने समस्या त छँदै छ, वास्तविकताभन्दा परको बनावटीपन पनि रहेका छन् । प्रश्‍न उठ्छ– किन त्यसरी लेखिए ? गणेश अधिकारीलिखित उपन्यास ‘डायरीमा रामप्रसाद राई’ (२०७८) भने रामप्रसाद राईको खास वैचारिक धारसहित आएको छ । उपन्यासभित्र माझकिराँतको ऐतिहासिक गाथा तथा ००७ सालमा सुरु भएको राणाविरोधी आन्दोलनको लिखित इतिहासभन्दा नितान्त फरक एउटा आन्दोलनको महत्त्वपूर्ण पृष्ठभूमि भेटिन्छ । यस पुस्तकको खास महत्त्व र मूल्य पनि यही हो । समाजसँग भिजेको रामप्रसाद राईको जीवन लयलाई उपन्यासकारले जस्ताको तस्तै समात्‍ने प्रयत्न गरेका छन् । पूर्ववर्ती रचनाभन्दा फरक भएकै कारण यो लेख जन्मिएको हो ।

    “यसकारण कि कांग्रेस, राणा र राजाले गरेको दिल्ली सम्झौता नै भारतीय विस्तारवादको पहिलो पाइला थियो । यही सम्झौता नै कांग्रेसको राजनीतिक जग थियो, जसलाई रामप्रसाद राईले देश र जनतामाथिको धोका हो”

    रामप्रसाद राई एक गतिशील व्यक्ति भएकाले त्यस बेला अस्थिरतामाझ पटक्कै बस्‍न रुचाएनन् । घरबाट भागेर बेलायती सेनामा भर्ती हुनु, त्यहाँबाट फर्केर राणाको सेनामा भर्ती हुनुका साथै राजनैतिक तथा कूटनैतिक पहल गर्नु र मुक्तिसेना गठनको पहलकदमी लिनुजस्ता महत्त्वपूर्ण भूमिकाका आधारमा उनको अर्थपूर्ण क्रियाशीलतालाई मूल्यांकन गर्न सक्छौँ । 

    रामप्रसाद राई बेलायती सेनामा भर्ती हुनुपूर्व नै उनको कलिलो मस्तिष्कमा कहीँ न कहीँ राजनैतिक भ्रुणहरू थिए भन्‍ने आभास हुन्छ । संवादको क्रममा कमाण्डर जेफरेडले उनीसँग भनेछन्– ‘तिमीहरू मासिन्या जातिको मान्छे हौ र तिमीहरूजस्तो लडाकु समुदायलाई तिम्रो देशमा उपेक्षा गरेको कारण हामीले आफ्नो देशको स्वार्थमा प्रयोग गर्न पाइरहेका छौँ।’ यही वाक्यले रामप्रसादभित्र राजनीतिक चेतनाका भ्रुणहरूलाई विद्रोहमा विकसित हुन सघाएको देखिन्छ । यसपछि नै ईओरा समुदायको नायक पेमुलमा अट्टलसिंह खम्बुको विम्ब देख्‍ने, ईओरा समुदाय र किराँत समुदाय एउटै लाग्‍ने, आफू र आफ्नो समुदाय विभेदमा परेको महसुस गरेको देखिन्छ । बिस्तारै उनमा गोर्खा ब्रिटिस सेनाहरूलाई संगठित गरेर विदेशी भूमिमा आर्जन युद्धज्ञान र क्षमतालाई प्रयोग गर्दै राणाविरोधी आन्दोलनसँगै राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्ने विचार बीजारोपण भएको देखिन्छ । ‘हाम्रो दुस्मन राणा मात्र होइन, हाम्रो मुख्य दुस्मन राजा हो’ भन्‍ने वाक्यांशले उक्त कुरा पुष्टि गर्छ । पुस्तकले ती इतिहासमा लिखित केही कुराको खण्डन गर्दै नयाँ वास्तविकताको रहस्योद्घाटन गर्दछ ।

    लिखित इतिहासबारेः रामप्रसाद राईबारे लेखिएका सम्पूर्ण इतिहास तथा ००७ सालवरपर सम्पन्‍न जनक्रान्तिको इतिहासको खण्डन हो, यो पुस्तक । बीपी कोइराला र धोकेबाज डा. केआईसिंहहरूलाई नायक बनाई लेखिएको ००७ सालवरपरको इतिहासको पुनर्लेखनको रूपमा यो पुस्तक प्रस्तुत छ । साथै, ००७ सालमा कांग्रेस जनतामा कति लोकप्रिय थियो र देशभरि कांग्रेसको प्रभाव कति थियो भन्‍ने कांग्रेसको बनिबनाउ इतिहासप्रति पनि यस पुस्तकले प्रश्‍न उठाएको छ, जुन लिखित इतिहास भजाएर कांग्रेसले अहिलेसम्म पनि खाइरहेको छ । धेरै पुस्तकमा लेखिएको रामप्रसाद राई कांग्रेस थिए भन्‍ने कुरालाई पनि खारेज गर्दै यस पुस्तकले रामप्रसाद राई कांग्रेस थिएनन् भनी जोडदार खण्डन गर्दछ । 

    बरु सामन्ति राजतन्त्रसँग घाँटी जोड्ने कांग्रेसभन्दा नितान्त फरक र अग्रगामी बिचारबाट उठेको नेताका रूपमा रामप्रसाद राईलाई यस उपन्यासमा पाउन सकिन्छ । र, नेपाली समाजको सम्पूर्ण विभेद र अन्तरविरोधहरूको हल गणतन्त्रले मात्र गर्न सक्छ भन्‍ने बुझाइमा उनी दृढ थिए भन्‍ने कुराको बोध गराउँछ । यसलाई उनका हरेक क्रियाकलापले पुष्टि गर्दछन् । मुख्य कुरा ००८ सालमा भएको त्रिपक्षीय दिल्ली सम्झौता देश र जनताको हितमा छैन भन्‍ने उनको निष्कर्ष थियो । 

    जबकि त्यो ऐतिहासिक ठगी, साँठगाठ र व्यक्तिगत सत्ता स्वार्थसँग जोडिएको सम्झौताको चंगुलबाट अझै देश निस्किन सकिरहेको छैन । उक्त कुरा महान् नेता भनिएका न बीपीले देख्‍न सके, न त अरुले नै । तर, अरुले नदेखेको कुरा रामप्रसाद राईले देखेका थिए । त्यही जनविरोधी र राष्ट्रघाती सम्झौताको विरोध गर्दै बढ्ने क्रममा आफ्नै निकट सहकर्मीहरूले साथ छोड्दासमेत गणतन्त्रका लागि अन्तिम समयसम्म लड्दा–लड्दै देशी–विदेशी षड्यन्त्रकारी शक्तिहरूको फन्दामा परेर उनी सिंहदरबारभित्रै मारिए । उनी मारिएपछि उनको मुक्तिसेनाले आत्मसमर्पण गर्‍यो भन्‍ने कुराको यथेष्ट प्रमाणहरूको दाबीपत्र पनि हो, यो पुस्तक ।

    वैचारिक स्पष्टता र दृढताः मानिस आफ्नो सभ्यता, समुदाय वा समाजको ऐतिहासिक शिक्षाबाट नै अगाडि बढिरहेको हुन्छ । सोहीअनुसार तिक्षण राजनीतिक विवेक बोकेका रामप्रसादले पनि आफ्नो समुदाय, सभ्यता, राष्ट्र र राष्ट्रिय चरित्रबाट तत्कालीन राज्यसत्ताको चरित्रलाई बुझेका थिए । उनी तत्कालीन राज्यसत्ताले एउटा गर्विलो इतिहास बोकेको आफ्नो समुदायप्रति विभेद गरेको निष्कर्ष निकाल्छन् । 

    उनले त्यति बेला निकालेको निष्कर्ष अहिले पनि हाम्रो समाजमा समस्याका रूपमा अझै विद्यमान छ । निरंकुश राणाशासन यो देश र समाजको समस्या मात्र होइन, बरु मुख्यतः निरंकुश सामन्ती राजतन्त्र नै समस्या हो भन्‍ने निष्कर्षमा पुग्दै जनक्रान्तिद्वारा एकैचोटि राणा र राजालाई फालेर जनताको शासन स्थापना गर्ने मूल राजनीतिक दृढ संकल्पका साथ उनी अगाडि बढेको कुरा यस पुस्तकमा प्रस्तुत छ । यस क्रममा त्रिपक्षीय सम्झौता गर्ने कांग्रेस र पूर्वमा किराँतीहरूले गठन गरेको जनक्रान्तिको अग्रदस्ता रामप्रसाद राईबीच वैचारिक बेमेलको स्थिति देखिन्छ । तर, यसलाई कसैले लेखेनन् । कारण– कांग्रेस अलग पार्टी, अलग सांगठनिक दस्ता र विचारबाट निर्देशित थियो भने रामप्रसाद अलग वैचारिक पृष्ठभूमिबाट सोभियतहरूजस्तै स्वतःस्फूर्त ढंगले युद्ध मोर्चामा अगाडि आएका थिए । 

    रामप्रसादहरूले लिएको अलग विचारसहितको सशस्त्र विद्रोहको गुणात्मक धक्काले कांग्रेसको राणाविरोधी गतिविधिलाई ओझेलमा पार्ने निश्‍चित देखेपछि नै होला, अत्तालिएर कांग्रेस, राणा र राजाबीच अकस्मात दिल्ली सम्झौता भयो । राजाविनाको कांग्रेस हुनै सक्दैन भन्‍ने बीपीले बारम्बार दोहोर्‍याएर बोल्ने शब्दहरूलाई चिन्तन र मनन गर्नै पर्छ कि यो शब्दावली बीपीले बारम्बार किन दोहोर्‍याए ? यसकारण कि कांग्रेस, राणा र राजाले गरेको दिल्ली सम्झौता नै भारतीय विस्तारवादको पहिलो पाइला थियो । यही सम्झौता नै कांग्रेसको राजनीतिक जग थियो, जसलाई रामप्रसाद राईले देश र जनतामाथिको धोका हो भने । वास्तवमा दिल्ली सम्झौताको मुख्य उद्देश्य देशमा प्रजातन्त्र स्थापना गरी अमनचयन कायम गर्ने होइन, पूर्वमा स्वतःस्फूर्त उठेको गणतन्त्रवादी आन्दोलनलाई निस्तेज पार्नु थियो ।

    हजार वर्षपछि नै किन नहोस्, निष्पक्षताको मानक नबनेका इतिहासहरूको कमजोरी र पक्षधरताप्रति समयले निर्मम प्रश्‍नहरू गर्नेछ र एक पक्षीय बनिबनाउ इतिहासले समयको कठघरामा उभिएर एक दिन जवाफ दिनै पर्छ । त्यही पछिल्लो मान्यताको जगमा उभिएको निर्मम प्रश्‍न हो, ‘डायरीमा रामप्रसाद राई’ ।

    दिल्ली सम्झौतापछि नेपालको वैचारिक समाज दुई ध्रुवमा बाँडिन पुग्यो । एकातर्फ– राणालाई ‘ब्यालेन्स’ मा राखी राणाशासन हट्यो भन्दै सामाजिक धार्मिक र सांस्कृतिक तथा वर्गीय विभेदहरू जस्ताको तस्तै राखेर परिवर्तनको डंका पिट्ने कांग्रेस र राजा त्रिभुवनहरू थिए । अर्कातर्फ– सम्पूर्ण विभेदहरूको समूल अन्त्य गर्ने अठोटका साथ लडिरहेको गणतन्त्रवादी आन्दोलनको नेतृत्व गरिरहेका रामप्रसाद राईहरू थिए । यही कारणले आफ्नो भविष्य राम्रो नदेखेका राजा त्रिभुवनले ‘प्रजातन्त्र आइसक्यो, अब तपाईंहरू फर्किनुहोस्’ भन्दै काभ्रेको धुलिखेलमा मुक्तिसेनासँग हात जोड्न पुगेका थिए। 

    मुक्तिसेनाका होनाहार कमाण्डर किताबसिंह राईहरूजस्तालाई ढोगेर अनुनय–विनय गरेर फर्काउन सफल भएका थिए। पछि मुक्तिसेना र कांग्रेसको सेना एउटै हो भनी सेना समायोजनको नाटक मञ्‍चन गरेर रक्षा दल नामक बन्दी शिविर बनाए । 

    “यही क्रममा रामप्रसादको सहयोद्धा नारदमुनि थुलुङलाई बीपीले चवानी सदस्यको टिकट दिएर मन्त्रिमण्डलमा सहभागी गराउने प्रलोभनमा आफूतिर तानेको देखिन्छ । यसको बाबजुद पनि रामप्रसाद राई आफ्नो सञ्‍चित शक्तिलाई उपयोग गर्दै अन्ततः सिंहदरबार कब्जा गर्न सफल भए। र, पूर्ण रूपमा राज्यसत्ता कब्जा गर्न अन्तिम लडाइँ लड्दा–लड्दै उनी मारिए । यसरी गणतान्त्रिक राजनीतिक प्रणाली स्थापनाका लागि एउटा जबर्जस्त र सशक्त पहिलो आन्दोलन तुहियो, जुन गणतन्त्र प्राप्तिका लागि १७ हजार मान्छेले फेरि बलिदानी गर्नु पर्‍यो । त्यसैको परिणाम आज करिब ६ दशकपछि गणतन्त्र प्राप्त भएको छ । र, यही प्रणालीका निम्ति नै रामप्रसाद राईको उच्च सहादत थियो भन्‍ने कुरा ‘डायरीमा रामप्रसाद राई’ उपन्यासको वैचारिक अडान हो ।”

    अस्ट्रेलियाको आदिवासीहरूले बेलायत पुर्‍याएको आफ्नो प्रिय नेता पेमुलको टाउको फिर्ताको माग अझै गरिरहेको इतिहाससँग जोडेर हेर्ने हो भने अटलसिंहको विरासतबाट उठेको रामप्रसाद राई किराँती समुदायका पेमुल हुन्। गणतन्त्रवादी तथा क्रान्तिकारीहरूको आन्दोलनको पृष्ठभूमिबाट हेर्दा रामप्रसाद राई गणतन्त्रवादी नेता तथा गणतन्त्रवादी शहीद हुन् । तसर्थ नेपाली क्रान्तिका चे ग्वाभारा रामप्रसाद राईको मृत्युबारे तत्कालीन सत्ताको बागडोर सम्हाल्ने कांग्रेसलगायत यस राज्यसत्ताले अब बोल्नु पर्छ । यसको अर्थ हो– रामप्रसाद राईको सत्यतथ्य इतिहास बताउनु पर्छ र लेख्‍नु पर्दछ ।

    बिस्तारै उनमा गोर्खा ब्रिटिस सेनाहरूलाई संगठित गरेर विदेशी भूमिमा आर्जन युद्धज्ञान र क्षमतालाई प्रयोग गर्दै राणाविरोधी आन्दोलनसँगै राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्ने विचार बीजारोपण भएको देखिन्छ । ‘हाम्रो दुस्मन राणा मात्र होइन, हाम्रो मुख्य दुस्मन राजा हो’ भन्‍ने वाक्यांशले उक्त कुरा पुष्टि गर्छ ।

    “अटलसिंह, पेमुल, चे ग्वाभाराको प्रतिविम्बित क्रान्तिकारी नायक राईलाई किन कांग्रेसले ‘ट्याग’ लगाइयो? त्यसको पुनर्लेखन तथा पुनःमुल्यांकन गरिनु पर्दछ । धनीहरूको मात्र होइन, गरिबहरूको पनि । जित्‍नेहरूको मात्र होइन, हार्नेहरूको पनि । बाँच्‍नेहरूको मात्र होइन, मर्नेहरूको पनि।”

     सबै–सबैको सही मूल्यांकन गरेर न्यायपूर्ण इतिहास लेखिनु पर्दछ किनकि इतिहास नै भविष्यको जग हो । यही निष्कर्ष यस पुस्तकको अर्को सशक्त वैचारिक पक्ष हो । साथै, माझकिराँत मुक्त गराउने अभियानसम्म नारदमुनि थुलुङ र रामप्रसाद राईको नङ–मासुको सम्बन्ध एकाएक दिल्ली सम्झौतापश्‍चात् किन बिग्रिँदै गयो ? नारदमुनि थुलुङ किन रामप्रसाद राईको साथ छोड्दै–छोड्दै बीपीको ‘क्याम्प’ मा पुगे? कतै आफ्नै सहयोद्धा रामप्रसाद राईप्रति नारदमुनि थुलुङको धोका त थिएन? किन रामप्रसाद राईले कांग्रेससँगको संवादमा जाँदा नारदमुनि थुलुङलाई पटक–पटक सजग हुन सुझाउँथे ? बीपीले थुलुङलाई महत्त्वहीन र उपेक्षित व्यवहार गर्दा पनि थुलुङको कांग्रेसप्रति जबर्जस्त आसक्तिको कारण के थियो ? 

    “रामप्रसाद राईको सहादतको समय थुलुङ मन्त्री थिए । तर, सत्ताको त्यस हैसियतमा पुग्दा पनि उनले आफ्नो सहयोद्धाको बारेमा किन सत्यतथ्य छानबिन गर्ने तत्परता देखाएनन् ? रामप्रसाद राईको एक असल सहयोद्धाको हैसियतबाट पहिले नै नारदमुनि थुलुङले बोल्नुपर्ने र लेख्‍नुपर्ने कुरा किन अहिले गणेश अधिकारीले लेख्‍नु परिरहेको छ?”

    यी माथिका वैचारिक प्रश्‍नहरूले उठाएका उत्तर खोज्‍न नारदमुनि थुलुङ र रामप्रसाद राईबारे गम्भीर समीक्षा गर्ने ठाउँ भने लेखकले खुला राखिदिएका छन् । यी दुई पात्रबीचको चारित्रिक तथा वैचारिक योगदान र भूमिकाको गम्भीर र निर्मम समीक्षा नगरी किराँत समुदायभित्रको वैचारिक तथा राजनीतिक आन्दोलनले अब निकास नपाउने अवस्था पनि त्यतिकै छ ।

    अहिले रामप्रसाद राईको विचारः हरेक विचारधाराको अन्तिम लक्ष्य तथा उद्देश्य हुन्छ । के रामप्रसाद राईको विचारधारा उनको सहादतसँगै सकियो त ? तर, रामप्रसाद राईको विचार सकिएको छैन । बरु ००७/००८ सालतिरको रामप्रसाद राईको विचारधारा तथा वैचारिक लाइनले नै ०६२/६३ सालको जनआन्दोलनको माध्यमद्वारा गणतन्त्र स्थापना गर्‍यो । माओवादीले सशस्त्र जनयुद्धको माध्यमबाट र पूर्वमा खम्बुवान हुँदै किवपाले सशस्त्र संघर्षको माध्यमबाट रामप्रसाद राईको अधुरो मुद्दाको उठान गरेको थियो । माओवादी र किवपाका रूपमा अलग–अलग पृष्ठभूमिका राजनीतिक शक्तिजस्तो देखिए पनि सारमा यी दुई शक्ति एउटै थिए । त्यसैले यिनको एकता सम्भव भयो । साथै एकतापछि त्यो पार्टी पूर्ण वैचारिक साथै वैज्ञानिक पार्टी पनि बन्यो । यसरी पार्टी एकतापछि रामप्रसाद राईको विचारलाई सशस्त्र संघर्षद्वारा राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड र किवपाका अध्यक्ष गोपाल किराँती ‘साइँला’ ले रामप्रसाद राईको उत्तराधिकारीको पहलकदमी लिए । यो किवपा र माओवादीबीचको पार्टी एकता मात्रै थिएन । 

    रामप्रसाद राईको वैचारिक विकासको एउटा महत्त्वपूर्ण कडी पनि थियो । ती दुई पार्टी एकतापश्‍चात् प्रचण्ड बीपीको भूमिकामा र साइँला रामप्रसाद राईको भूमिकामा देखिए । यहाँ फरक के छ भने बीपीले रामप्रसाद राईलाई बेपत्ता बनाए । तर, प्रचण्डले रामप्रसाद राईलाई आफ्नो वैचारिक विरासतको हैसियतमा स्वीकार गरे । 

    दोस्रो संविधानसभाको मुखमा समाजवादी आन्दोलनमा आफ्नो जीवनको अधिकांश समय व्यतीत गरेका तत्कालीन एमालेका नेता अशोक राईले घोर दक्षिणपन्थी पार्टी नेकपा एमालेबाट गरेको उच्च र सानदार विद्रोह पनि सामान्य घटना थिएन । तत्कालीन एमाले नेता अशोक राईको विद्रोह पनि रामप्रसाद राईकै विचारधाराको एक उपज थियो । त्यत्ति मात्र होइन, गणतन्त्र स्थापना र जातीय मुक्तिको सवालमा साहित्यिक तथा सामाजिक आन्दोलनको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ । उक्त साहित्यिक आन्दोलनमा बैरागी काइँला, गोपाल छाङ्छाहरूको वैचारिक लाइन पनि वास्तवमा रामप्रसाद राईकै वैचारिक लाइन थियो, जुन विचारलाई साहित्यिक आन्दोलनद्वारा भूपाल राईले जबर्जस्त उचाइमा पुर्‍याए । 

    तसर्थ, राजनीतिक योगदानको हिसाबले किराँती समुदायका लागि गोपाल किराँती दोस्रो रामप्रसाद राई, पेमुल तथा क्रान्तिकारी चे हुन्, जसले आफ्नो समुदाय र वर्गको मुक्तिका लागि आंशिक रूपमा आफ्नो राजनीतिक मुद्दाहरू स्थापित गर्दै सयौंको संख्यामा सचेत नेतृत्व जन्माइसकेका छन् भने भूपाल राई किराँत समुदायको मात्रै नभई उत्पीडित समुदायको गोर्की हुन् । 

    भूपालले साहित्य मात्रै लेखेनन्, सबै खाले विभेदविरुद्धमा समेत लडे । विशेषतः जातीय उत्पीडनद्वारा प्रताडित समुदायको मुक्तिबारे लेखे । त्यस अवस्थाबाट भूपाल राईले सुरु गरेको साहित्यिक आन्दोलन तथा विद्रोहको पक्षमा कलम नचलाउने अहिलेको साहित्यकार को छ ? तसर्थ, गोपाल किराँती, अशोक राई र भूपाल राई सांस्कृतिक तथा राजनीतिक आन्दोलनको परिपूरक पात्रहरू हुन् । उनीहरूले रामप्रसाद राईको अधूरो विचारलाई बोकेर लेखे । समाजलाई सचेत गराउँदै मुद्दाहरूलाई समाजमा स्थापित गराउँदै एउटा महत्त्वपूर्ण समयको नेतृत्वको पहलकदमी लिए । त्यसैले यो आंशिक उपलब्धि हासिल गर्दै गरेको पछिल्लो जातीय राजनीतिक परिवर्तनको संवाहक दुई पात्र गोपाल किराँती र भूपाल राई नै हुन् भन्‍न सकिन्छ ।

    के रामप्रसाद राईको विचारधारा उनको सहादतसँगै सकियो त ? तर, रामप्रसाद राईको विचार सकिएको छैन । बरु ००७/००८ सालतिरको रामप्रसाद राईको विचारधारा तथा वैचारिक लाइनले नै ०६२/६३ सालको जनआन्दोलनको माध्यमद्वारा गणतन्त्र स्थापना गर्‍यो ।

    निष्कर्षः जित्‍नेहरूले मात्रै इतिहास लेख्छन् भन्‍ने मानसिकताले हाम्रो समाज ग्रसित छ । र, त्यही मानसिकताअनुसार हाम्रा इतिहासहरू लेखिएका, भनिएका र स्थापित भएका छन् । कुनै समय त्यस मान्यताको मूल्य थियो होला । तर, अहिले त्यस मूल्य–मान्यताहरू गलत हुन् भन्‍ने कुरा इतिहास आफैँले खारेज गर्दै आएको छ । लिखित इतिहासहरू मात्रै सत्य हुँदैनन् भन्‍ने मान्यता स्थापित भइरहेको छ । हजार वर्षपछि नै किन नहोस्, निष्पक्षताको मानक नबनेका इतिहासहरूको कमजोरी र पक्षधरताप्रति समयले निर्मम प्रश्‍नहरू गर्नेछ र एक पक्षीय बनिबनाउ इतिहासले समयको कठघरामा उभिएर एक दिन जवाफ दिनै पर्छ । 

    त्यही पछिल्लो मान्यताको जगमा उभिएको निर्मम प्रश्‍न हो, ‘डायरीमा रामप्रसाद राई’ । यस उपन्यासले इतिहासको सत्यता, निष्पक्षता र सर्वस्वीकार्यतामाथि प्रश्‍नहरू गरेको छ । पुस्तकमा माझकिराँतले द्वैध चरित्र बोकेका हरिनन्द पोखरेलजस्तो द्रोही पात्र मात्र होइन, त्यही नश्लको परमानन्द बाजेजस्तो इतिहाससिद्ध एक असल गुरुको पनि वर्णन गरेको छ, जसले रामप्रसाद राईजस्ता महान योद्धा उत्पादन गर्‍यो । 

    तसर्थ नश्ल, जात र समुदाय दोषी र खोटी होइनन्, पात्र विशेषको चिन्तन, चरित्र र नियतमा भर पर्दछ । सबैलाई एउटै आँखाले हेर्नु हुँदैन भन्‍ने कुराको बलियो प्रमाण पनि यहाँ छ । परमानन्द बाजेको चारित्रिक सिलसिलासँग जोडिएका थुप्रै गणेश अधिकारीजस्ता नयाँ पुस्ताको आवश्यकता माझकिराँतलाई छ र हरिनन्दहरूले पनि आगामी दिनमा आत्मसमीक्षा गर्दै परमानन्द बाजेको भूमिकामा रूपान्तरण हुने माझकिराँतले अपेक्षा राख्‍नु पर्छ ।

    माझकिराँतले परमानन्द बाजे र गणेश अधिकारीजस्ता असल शिक्षक पाएकोप्रति सदैव गौरव गर्नु पर्दछ, जसले हजारौं रामप्रसाद राई, गोपाल किराँती, अशोक राई र भूपाल राईहरू जन्माउने भूमिका निर्वाह गरेका छन् । परमानन्द बाजे र परमानन्द बाजेको नयाँ संस्करणको भूमिकामा रहेको यस पुस्ताका उपन्यासकार गणेश अधिकारीलाई सलाम छ ।

    आशकुमार राई लेखक तथा साहित्यकार 

    _______

    हिमाली संचार | हिमाली संसार प्रा.लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://himalisanchar.com/

    नोट : Himalisanchar.com मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकाशित गर्नुपरेमा वा, बिज्ञापन दिनुपरेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ। हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नुहुन्छ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल भाइरल, नियन्त्रणमा लिन प्रहरीको सर्कुलर

    काठमाडौं – बुधबार बिहान गौशाला चोकमा एउटै नम्बर प्लेटका २ वटा मोटरसाइकल ट्राफिक जाम हुदा...

    लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले दिइन् राजीनामा

    बुटवल – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले...

    फोक्सिङटार पुल अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न भएको कम्पनीको दावी

    खोटाङ – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं. ९ लिच्कीराम्चे र उदयपुर जिल्लाको रौतामाई गाउँपालिका...

    बालुवाटारमा आगलागी, ५ वटा दमकल परिचालन

    काठमाडौं – काठमाडौं महानगरपालिका काठमाडौको बालुवाटारमा भिषण आगलागी भएको छ । बालुवाटार स्थित सुनौलो परिवार...

    विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गर्दै

    काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी...

    Only In USA