आज : २०२६-०६-०५, शुक्रबार

महाकालीमा फसेकाहरुलाई उद्धारका लागि समस्या, हेलिकप्टरबाट उद्धार गर्ने तयारी

काठमाडौं – सुर्खेत महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मसेट्टीका पाँच जनाको उद्धारको लागि हेलिकप्टर पुगेको छ। 

बाढीमा फसेकाको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर मगाएर उद्धारको प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी असोक कुमार भण्डारीले जानकारी दिएका छन्। 

‘उद्धारका लागि बिशेष टीम खटाइएको छ। पिडितहरु रुखमा बसिरहेका छन्। हेलिकप्टरको पङखाले रुख भाँचिन सक्ने भएकाले केही उद्धारका लागि कठिनाइ भएको छ’ उनले भने।

अबिरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढे पछि नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ति नायक, असोक नायक र अजय नायक बाढीमा फसेका हुन् । सोमबार रातीदेखि बाढीमा फसेका उनीहरु रुखमा बसिरहेका छन्।

उनीहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाव बढी भएका कारण उद्धार गर्न सकेको थिएन। त्यस पछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको थियो तर मौसम खराबीका कारण सुर्खेतबाट अझै हेलिकप्टर उड्न सकेको छैन।