आज : २०२६-०७-२२, बुधबार

गंगाजमुनामा गाउँपालिकामा  नयाँ प्रशासकीय नेतृत्वको आगमन

फुलखर्क-गंगाजमुना गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुदीप ढुङ्गानाको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिमखडा, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानालाई फूलको गुच्छा प्रदान गर्दै  स्वागत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सिमखडाले प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दुई वर्ष गाउँपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा सहकार्यबाट गाउँपालिकाको विकासले थप गति लिने विश्वास व्यक्त गरे।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुदीप ढुङ्गानाले पनि गाउँपालिकाको समग्र विकास, पारदर्शी प्रशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

गंगाजमुना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाको दुई वर्षे कार्यकाल रहनेछ। स्वागत तथा परिचयात्मक कार्यक्रमले गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच आपसी सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।