सूचना पाटी छैन, काम अधुरो : सुनवर्सी नगरपालिका मौन

मोरङ-मोरङको सुनवर्सी नगरपालिका अन्तर्गत डाइनिया बजार क्षेत्रमा सडक बत्ती जडानको काम लामो समयदेखि अधुरो अवस्थामा रहेको पाइएको छ। काम सुरु भएको धेरै समय बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्।
सडक बत्ती जडानका लागि पोल गाड्ने तथा केही संरचना निर्माण गर्ने काम सुरु भए पनि त्यसपछि उल्लेखनीय प्रगति देखिएको छैन। अझ आयोजना कुन ठेकेदार कम्पनी वा उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको हो, कुल लागत कति हो, निर्माण अवधि कति हो भन्ने विवरण खुल्ने सूचना पाटीसमेत राखिएको छैन।
सार्वजनिक निर्माण आयोजनामा सूचना पाटी राख्नु पारदर्शिता, जवाफदेहिता र सुशासनको आधारभूत अभ्यास मानिन्छ। यसबाट नागरिकले आयोजनाको लागत, जिम्मेवार निकाय, निर्माण अवधि र प्रगति सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्छन्। तर यस आयोजनामा त्यस्तो व्यवस्था नहुँदा नगरपालिकाको निगरानी र पारदर्शितामाथि प्रश्न उठेको छ।
यस विषयमा सुनवर्सी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालले सडक बत्ती जडानको ठेक्का नगरपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार ठेक्का बाहिरी कम्पनीलाई दिइएकाले स्थानीय मजदुर परिचालन गर्नुपर्ने अवस्थाका कारण केही ढिलाइ भएको हो। अब भने निर्माण कार्य छिट्टै सम्पन्न हुने उनले बताए।
सूचना पाटी नराखिएको विषयमा प्रतिक्रिया दिँदै बरालले ठेकेदारलाई तत्काल सूचना पाटी राख्न निर्देशन दिइने र निर्माण कार्य पनि शीघ्र सम्पन्न गराइने जानकारी दिएका छन्।
स्थानीयवासीले भने निर्माण कार्य समयमै सम्पन्न गर्न, आयोजना सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न तथा कामको प्रभावकारी अनुगमन गर्न नगरपालिकासँग माग गरेका छन्।

















