
काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर सुरु गरेको छ। अभियानको औपचारिक सुरुवात पार्टी सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो क्रियाशील सदस्यता नवीकरण गरेर गरेका हुन्।
पार्टीले अभियानलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। ती प्रतिनिधिहरूले स्थानीय तहमा बसेर सदस्यता अद्यावधिक तथा विस्तार कार्यलाई गति दिने जिम्मेवारी पाएका छन्।
अभियानमार्फत कांग्रेसले सदस्यता प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ। यसका लागि डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, वडास्तरमै सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य भर्ना प्रक्रिया सहज बनाउने तयारी गरिएको छ।
पुराना सदस्यहरूको विवरण अद्यावधिक गर्दा फारम भर्ने र फोटो खिच्ने प्रावधान लागू गरिनेछ। साथै, सदस्यता प्रक्रिया पारदर्शी बनाउन ओटीपी प्रणालीसमेत अनिवार्य गरिएको छ।
कांग्रेसले यो अभियानमार्फत संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै आम नागरिकसँग प्रत्यक्ष संवाद विस्तार गर्ने अपेक्षा गरेको छ।