
धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब ५० करोड रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग निर्माण भइरहेको छ। यसले स्थानीय स्तरमा कृषि उत्पादन र औद्योगिक विकासलाई सँगसँगै अघि बढाउने अपेक्षा गरिएको छ।
निर्माण कार्य जारी रहेको उद्योग क्षेत्रमा अहिले संरचना तयार पार्ने र आधुनिक मेसिन जडान गर्ने काम भइरहेको छ। उद्योग स्थापना हुन थालेसँगै आसपासका किसानमा विशेष गरी आलुखेतीतर्फ आकर्षण बढ्न थालेको छ।
यस क्षेत्रका विभिन्न फाँटहरूमा परम्परागत खेती हुँदै आएको भए पनि अब नगदेबालीका रूपमा आलु उत्पादन बढ्ने देखिएको छ। उद्योगले किसानबाट आलु खरिद गर्ने योजना ल्याएपछि कृषकहरूमा उत्साह थपिएको छ। साथै, स्थानीय तहको सिफारिसमा आलु भण्डारणमा छुटको व्यवस्था गरिनुले पनि किसानलाई थप सहयोग पुगेको छ।
उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब २०० जनाले प्रत्यक्ष रोजगारी पाउने र हजारौँ किसान अप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। स्थानीय युवालाई प्राथमिकता दिई रोजगारी उपलब्ध गराइने बताइएको छ।
जर्मन प्रविधिमा आधारित यो उद्योगले दैनिक करिब १० टन आलु प्रशोधन गरी विभिन्न परिकार उत्पादन गर्ने लक्ष्य राखेको छ। यसबाट कृषि उत्पादनमा मूल्य अभिवृद्धि भई बजार विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसै क्रममा सभामुख डोलप्रसाद अर्यालले उद्योग क्षेत्रको अवलोकन गर्दै निजी लगानीलाई संरक्षण र प्रोत्साहन गर्न राज्य प्रतिबद्ध रहने बताएका छन्।
स्थानीय स्तरमा कृषि र उद्योगबीच समन्वय गर्दै आर्थिक गतिविधि बढाउने दिशामा यो उद्योग महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।