
कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ। उनीहरूले माघ १० गते पोखरा–२९ घोतघोतेस्थित पसल अगाडि पार्किङ गरिएको पल्सर मोटरसाइकल चोरी गरेका थिए।
मोटरसाइकल हराएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय शिशुवाले अनुसन्धान सुरु गरेको थियो। घटनास्थल वरपरका सीसीटीभी फुटेजको अध्ययन गर्दा बालकहरूको चोरीमा संलग्नता पत्ता लागेको थियो।
कास्की प्रहरीले खोजतलासका क्रममा तनहुँको आँबुखैरेनी प्रहरी कार्यालयसँग समन्वय गरी सोमबार बिहान ४ बजे पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–२ गणेश टोलबाट उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका बालकहरूलाई चोरीको मुद्दामा अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ।