
काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा २ हजार ९ सय रुपैयाँ कम हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पनि परेको हो। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ, जसका आधारमा स्थानीय बजारमा मूल्य समायोजन गरिएको जनाइएको छ।
चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५० रुपैयाँले घटेर ५ हजार ८ सय ७० रुपैयाँमा झरेको छ। व्यवसायीहरूका अनुसार चाँदीको मूल्य पनि बुधबार ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै घरेलु बजारमा दैनिक रूपमा मूल्य समायोजन हुँदै आएको र त्यसको असर सुनचाँदीको कारोबारमा देखिएको हिमाली संचारका संवाददाताले जनाएका छन्।