
काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन गर्दा धरौटी राख्नुपर्ने नयाँ नियम जारी गरेको छ। जनवरी २१ देखि लागू हुने यस नियमअनुसार न्यूनतम ५ हजार अमेरिकी डलरदेखि अधिकतम १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ।
धरौटीको रकम कन्सुलर अफिसरले आवेदकको अवस्था अनुसार तोक्नेछन् र रकम अमेरिकी सरकारी पोर्टल मार्फत सीधै जम्मा गर्नुपर्नेछ। कुनै तेस्रो पक्ष वा एजेन्ट मार्फत रकम बुझाउन नहुने सर्त राखिएको छ।
धरौटी राखेर अमेरिका जाने नेपालीहरूले केवल न्युयोर्कको जोन एफ. केनेडी, वासिङ्टन डीसीको डलेस, र बोस्टनको लोगन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न सक्नेछन्। अन्य विमानस्थल प्रयोग गरेमा धरौटी जफत हुने र भविष्यमा अमेरिका प्रवेशमा रोक लाग्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले दिएको छ।
धरौटी रकम फिर्ता पाउन आवेदकले तोकिएको समयभित्र अमेरिका छोड्नु पर्ने, भिसाको सर्त उल्लंघन नगर्नु पर्ने र तोकिएका विमानस्थलबाट बाहिरिएको प्रमाण देखाउनु पर्नेछ। भिसा म्याद नाघेपछि वा शरणार्थीको रूपमा बस्नेहरूले धरौटी रकम फिर्ता पाउने छैनन्।
नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएला लगायत ३८ देशका नागरिकहरू यस नियमको दायरामा परेका छन्। अमेरिकी प्रशासनले यो नियम मुख्यतया समयमै आफ्नो देश फर्कने नागरिक कम भएका देशहरूलाई लक्षित गरी ल्याएको बताएको छ।