
काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ। बिहीबारदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर आवेदन खुला गरिएको हो।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने २० करोड रुपैयाँको २० लाख कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ। यसमध्ये लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ४ का बढी प्रभावित तथा वडा नम्बर १, २, ३, ५, ६, ७, ८ र ९ का प्रभावित बासिन्दाका लागि १० लाख कित्ता सेयर सुरक्षित गरिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्रभावित स्थानीयले पुस १७ गतेभित्र आवेदन दिनुपर्नेछ भने ढिलोमा माघ २ गतेसम्म समय तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ७ गतेसम्म आवेदन दिन पाउनेछन्।
आईपीओ बिक्री व्यवस्थापनको जिम्मेवारी कुमारी क्यापिटलले लिएको छ। कम्पनीको गत आर्थिक वर्षसम्मको वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ ऋणात्मक देखिएको छ।
भुजुङ हाइड्रोपावरले ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम् जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीले इक्रा नेपालबाट बी प्लस रेटिङ प्राप्त गरेको छ।