
ललितपुर, मंसिर २३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का प्रणालीको असंवेदनशील व्यवस्थापनले देशको विकास र रोजगारीमा नकारात्मक असर पुर्याएको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी संवादमा मन्त्री घिसिङले भने, “ठेक्का लिएर समयमै काम नगर्दा देश र जनतालाई ठुलो घाटा पुगेको छ। विकास निर्माणमा ढिलाइले अर्थतन्त्र र रोजगारीमा समेत असर गर्छ।”
उनले ठेक्का सम्पन्न भएपछि भुक्तानी ढिलाइ गर्ने र निर्णय नगर्ने व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा बढी ठेकेदार सम्मेलनको आवश्यकता रहेको धारणा राखेका छन्।
संवादको सुरुआतमा पूर्वाधार विशेषज्ञ एवम् पूर्वसचिव अर्जुनजङ्ग थापाले ठेक्का तोड्ने सरकारी नीतिहरू र त्यसको प्रभावबारे प्रस्तुति दिएका थिए।