
बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ। विशेष अदालतले गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहका क्रममा भएको हिंसात्मक घटनामा उनको संलग्नता रहेको ठहर गर्दै फैसला सुनाएको हो।
मुद्दा हसिनाको अनुपस्थितिमा भारतबाट निर्वासनमा रहेकै अवस्थामा चलेको थियो। ४५३ पृष्ठको फैसलालाई न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले अदालतमा वाचन गरेका थिए। यो फैसला बंगलादेश टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
अभियोजन पक्षले शेख हसिनासहित तीन जनाविरुद्ध पाँचवटा औपचारिक आरोप दर्ता गरेको थियो। दाबी अनुसार, विद्रोहका दिनहरूमा देशभर फैलिएका हिंसात्मक घटनामा हसिनाको भूमिका रहेको थियो। आन्दोलनमा करिब १,४०० जनाको मृत्यु र २५ हजारजति घाइते भएका थिए।
हत्या, हत्या प्रयास, षड्यन्त्र, हिंसा प्रवर्द्धन र संचालनमा भूमिका जस्ता मुख्य अपराधमा उनी दोषी ठहर भएकी छन्। अभियोजन पक्षले बताए अनुसार, हसिनाले १४ जुलाईमा प्रधानमन्त्रीको रूपमा पत्रकार सम्मेलनमा विद्यार्थीहरूलाई ‘रजाकारका छोरा–नाति’ भन्दै टिप्पणी गरेकी थिइन्, जसले विद्रोहलाई अझ हिंसात्मक बनाएको थियो। बंगलादेशमा ‘रजाकार’ शब्द १९७१ को मुक्तियुद्धमा पाकिस्तानी सेनाको पक्षमा लडेका समूहका सदस्यप्रति प्रयोग हुने अपमानजनक शब्द हो।