मिडिया हाउस जलाउन निर्देशन दिने दुर्गा प्रसाईंको म्यासेज सार्वजनिक, पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, असार १ – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंले मिडिया हाउसहरू जलाउन निर्देशन दिएको प्रमाण सार्वजनिक भएको छ।
प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरूको मोबाइल जाँच गर्दा प्रसाईंले आफ्ना समर्थकहरूलाई ‘आगो लगाउनुपर्छ’ भन्दै पठाएको म्यासेज फेला परेको हो। उक्त मोबाइलहरू ‘डिजिटल फरेन्सिक ल्याब (डीएफएल)’ मा परीक्षण गराउँदा प्रसाईंको उक्साहट पुष्टि भएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।
‘सरकारलाई अब आगो लगाउनुपर्छ। अब सबै जिल्लामा यस्तै गर्नुपर्छ। मिडिया पनि जलाउनुपर्छ’, प्रसाईंको म्यासेजमा स्पष्ट उल्लेख छ। त्यसैदिन तीनकुनेमा राजावादी समर्थकहरूले प्रहरीसँग झडप गरेपछि विभिन्न घर, पार्टी कार्यालय, गाडी र जडिबुटीमा रहेको उद्योगमा समेत आगजनी गरेका थिए। साथै कान्तिपुर र अन्नपूर्ण पोस्टका कार्यालयहरूमा ढुंगा प्रहार समेत गरिएको थियो।
उक्त म्यासेजलाई प्रमाण मान्दै काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। बिहीबार राति साढे १२ बजे न्यायाधीश ध्रुवराज कार्कीको इजलासले सो आदेश दिएको हो। अहिले प्रसाईं डिल्लीबजार कारागारमा राखिएका छन्।
झापा बिर्तामोडका ५४ वर्षीय प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक हुन्। तीनकुनेमा भएको उक्त प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिएको भए पनि आन्दोलन हिंसात्मक बनेपछि घटनाले भयावह मोड लिएको थियो। प्रसाईंमाथि भिडलाई उत्तेजित बनाउने, निषेधित क्षेत्र तोड्न लगाउने र सुरक्षाकर्मीलाई गाडीले किच्ने प्रयास गरेको आरोप छ।
उक्त घटनामा पत्रकार सुरेश रजकको ज्यान गएको थियो। सोही घटनासँग सम्बन्धित मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्ध अपराध, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी अभियोगहरू लगाइएको छ।
प्रसाईं चैत २९ गते भारतको आसामबाट पक्राउ परेका थिए। सरकारी वकिल कार्यालयले ११ जेठमा ६१ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गर्यो। जसमध्ये ११ जना धरौटीमा छुटेका छन् भने केही अझै पक्राउ पर्न बाँकी छन्। बाँकी प्रतिवादीमध्ये बिहीबार रातिसम्म ३९ जना प्रहरी हिरासतमा थिए। सात जना कारागार चलान भए पनि अन्य ३२ जनाले धरौटी बुझाएर रिहा भएका छन्।

















