रंगेलीकाे ९ वटै वडामा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन

मोरङक, वैशाख १२ – रंगेली नगरपालिकाले महिलाहरूका लागि पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको संचालन सुरु गरेको छ। रंगेली–९ स्थित वडा कार्यालयको स्वास्थ्य शाखाबाट औपचारिक रूपमा उक्त शिविर प्रारम्भ गरिएको हो।
शिविरमा फर्सडागी, दोहमना, बनकोल, मैनावारी, युवाचोक लगायतका स्थानका महिलाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। नगरपालिकाका अनुसार आर्थिक अवस्था कमजोर भएका महिलाहरूमा रोग लुकाउने प्रवृत्ति रहेको र ढिलो अवस्थामा मात्र रोगको पहिचान हुने भएकाले उनीहरूको जीवन जोखिममा पर्ने गरेको छ। यही समस्यालाई ध्यानमा राखी रंगेली नगरपालिकाले विगत केही वर्षदेखि पाठेघर सम्बन्धी शिविरको आयोजना गर्दै आएको हो।
स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलका अनुसार, यस वर्ष नगरका सबै ९ वटा वडाका बासिन्दाहरूलाई लक्षित गरी शिविर सुरु गरिएको हो। शिविरमा पाठेघरका समस्या देखिएका महिलाहरूलाई रंगेली अस्पतालमा निःशुल्क उपचार समेत प्रदान गरिनेछ।
शिविरमा भिडियो एक्स-रे, भीआई परीक्षण तथा अन्य स्वास्थ्य जाँच गरिनुको साथै ३० प्रकारका निःशुल्क औषधिहरू पनि वितरण गरिएको थियो। साथै, रंगेली अस्पतालका दक्ष चिकित्सकहरूले महिलाहरूको स्वास्थ्य परीक्षण गरेका थिए।


















