डिपेन्डेन्ट भिसामा विदेश लैजाने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, मंसिर ११ – डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा रामेछाप स्थायी घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर उर्फ होम बहादुर मगर रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार मगरले दुई युवतीलाई कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई ठगी गरेका थिए। उनले सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी विश्वास जितेका र रकम जम्मा गर्न लगाएर सम्पर्कविहीन भएका थिए।
प्रहरीले मगरलाई काठमाडौं महानगरपालिका-३, बाँसबारीबाट पक्राउ गरी ठगी मुद्दामा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको जनाएको छ। ठगीबाट पीडितहरूलाई २१ लाख बिगो माग गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


















