लाज नै लज्जित भएपछि कसको के लाग्ने रहेछ र? चेतनामा डढेलो लागेपछि त्यसले आफुबाहेक सबैलाई कुरुप देख्ने गर्छ ।इतिहासका त्याग, बलिदान र मर्ममाथि सधैं खिसिट्युरी गर्ने बानिपरेको नेपालको दोस्रो ठूलो राजनीतिक दल एमालेले अहिले त्यही स्वरुप ग्रहण गरेको छ ।
वर्तमान सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको होशहवास उडेको छ । सबैले उसको लुटाह अस्तित्वमाथि प्रहार गरिरहेका छन् । उसको विगतप्रति घृणा गरिरहेका छन् । उसको स्वरुप देखेर लोक लज्जित छ ।
तर, पनि उसले पटकपटक भुइँमा खसेको आफ्नो मुखुण्डो भिरेर आफुभित्रको देश लुट्ने अभिप्राय अझैसम्म जिउँदै राखेको छ । बूढो स्यालले जस्तै ऱ्याल काढेर दाह्राहरु तिखारी रहेको छ । अरुले सेतोलाई सेतो भन्दा कालो भनेर राँइदलो मच्चाउने त्यो प्रवृत्ति पछिल्लो समय आफ्नै कर्तुतहरुको भँड्खालोमा नमज्जासँग घोप्टिएको छ ।
उतिबेला ‘समृद्ध नेपाल, सुखी नेपाली’को हल्ला मच्चाएर रातारात एउटा अनुहारको तस्वीर काठमाडौंका विद्युतीय पोलमा टाँसियो । त्यसले विरोध र समर्थनका बाबजुद व्यापक रुपले चर्चा कमायो । जनतामा पनि दुईतिहाइ बहुमतको सरकारले आंशिक भएपनि आफ्ना व्यथाहरूमा केही राहत पुग्ने अभिलाषा थियो ।
सरकार समर्थित राजनितिज्ञ र बुद्धिजीवी समेतलाई अब त विकास र समृद्धिका ढोकाहरू खुल्छन् भन्ने विश्वास थियो । झन्डै सधैंजसो सत्ताको अंशियार बनेको एमाले आफ्नै कारण भुँइ न भाँडो बन्यो । अब दशकौंसम्म सत्ताबिहीन भएर कसरी देश लुट्ने भन्ने चिन्ताले पिरोलेको छ ।
“भ्रष्टाचारका हरेक पानामा उनीहरूकै हस्ताक्षर र उपस्थिति छ । यद्यपि, उनीहरूलाई थोरै पनि लाज र हिनताबोध छैन । किनकी, उनीहरू एमाले हुन् । विडम्बना १ यिनैले देशको भलो चिताएको निबन्ध सुनाएरै लोक हसाउँछन् । त्यसैले त एमाले भन्ने पार्टीका नेताहरूसँग लाज आफै लजाउँछ ।”
उसैत कम्युनिष्टको, त्यसैमा पनि दुईतिहाइ बहुमतको सरकार । ओख्खो १ अब त अलिकति भएपनि राहतको कोल्टे फेर्न पाइन्छ कि रु भन्ने आम सर्वसाधारणको आशा थियो । यद्यपि, त्यो अपेक्षा नराम्रोसँग निराशामा परिणत भयो ।
सत्ताको तरबार फन्काएर भ्रष्टाचारको जालो बुन्नेहरूले आम आशामाथि निराशाको धुलो मिल्काइदिए । शक्ति र पावर हात पर्नेबित्तिकै आफूलाई जंगली बाघ ठान्ने अहमता रुपि त्यही खम्बामा टाँसिएको अनुहारले समग्रतया ‘दस खर्बको वैदेशिक ऋण’ देशको थाप्लोमा भिडाइदियो ।
कहिले हेलिकप्टरमार्फत केक मगाएर त कहिले ओली बन्धुहरूलाई भोज खुवाएर मोजमस्तिको रवाफ देखायो । केही गर्न खोज्ने मन्त्रीहरूलाई थर्काउनेदेखि अपराधिक मनोवृत्ति भएकालाई आफ्ना वरिपरि राखेर ताली पट्काउनेसम्मको जागिर खुवायो। क्रमशः घमण्ड र अहंकारको चुलिमा पुगेर तानाशाही प्रवृत्तिलाई अंगाल्न सौखिन देखिएको त्यो नेतृत्व संसद विघटनको भुग्रोमा परेर धुलिसात बन्यो ।
त्यो खम्बामा झुन्ड्याइएको तस्वीरले झन्डै बयालीस महिनासम्म राज्यसत्तालाई कतिसम्म दोहन गऱ्यो भन्ने विषयहरू अहिले एकपछि अर्को गर्दै छर्लङ्ग भइरहेकै छन् । भ्रष्टाचारका हरेक पानामा उनीहरूकै हस्ताक्षर र उपस्थिति छ । यद्यपि, उनीहरूलाई थोरै पनि लाज र हिनताबोध छैन । किनकी, उनीहरू एमाले हुन्।
पशुपति मन्दिरको जलहारीमा पित्तल मिसाएको मुद्दामा ढाकछोप गर्न एमाले सांसदहरू संसदमा जंगिए । उता नक्कली भुटानी शरणार्थी काण्डमा बालकोटसम्म पुगेको लहरो खुम्च्याउन आह्वान गर्दै ओली दिनको दुई पटक आफू स्वयं लुरुक्क बालुवाटार पुगे ।
७० करोड काण्डका सिफारिसकर्ता र पानी ट्याङ्कीभित्र पैसा लुकाउने पात्रलाई भान्से बनाएको एमालेको आगामी यात्रा सुखद छैन । विडम्बना त के भने यिनैले देशको भलो चिताएको निबन्ध सुनाएरै लोक हसाउँछन् । र, त यो एमाले भन्ने पार्टीका नेताहरूसँग लाज आफै लजाउँछ ।
करोडौं भ्रष्टाचार गरे वाफतको चारो खाएकाहरू कुनामा बसेर प्रचण्डको विरोध गरिरहेका छन् । मदन भण्डारीको हत्या गरी उनकै नामको फाउन्डेसन चलाएर उनकै चिहानमा रत्यौली नाच्नेहरू आज हेपाहा छिमेकीसँग आँखा जुधाएर वर्षौं पुराना प्रश्नको उत्तर खोज्ने प्रचण्डलाई खिसिट्युरी गरिरहेका छन् ।
चेतनामा डढेलो लागेको एमालेलाई कठै भन्दा अरु के नै भन्न सकिन्छ र रु हामी आम नागरिकले बुझ्नुपर्ने कुरो के हो भने, सबै दलका देशघाती, भ्रष्टाचारी र लुटेराहरू एउटै वर्गका र एउटै स्वर्गका हुन् ।
ती विपरीत बन्न सक्छन् । तर, फरक हुन सक्दैनन् । उनीहरू एउटै कचौराका दुई कुनामा बसेर चाट्ने चिनी कमिला हुन् । जसरी पनि देश लुछ्ने र आफू मोटाउने नीतिलाई उनीहरूले शिरोधार्य गरेका हुन्छन् ।
लोकतन्त्रमा हरेक दल वा विचारमा आस्था राख्न पाइन्छ । आफुले समर्थन गरेको दल र नेतृत्वले आम सर्वसाधारणका मुद्दामा कत्तिको चासो राख्छ र त्यसले समग्र देशको हिततर्फ कस्तो पाइला चाल्छ भन्ने मानेमा हामी आम नागरिकले हेक्का राख्नुपर्छ ।साभार दृष्टि खबर।
उमेश बन्जाडे
लमही दाङ