आज : २०२६-०६-०७, आइतबार

केहि दिन अगाडी मात्र मन्त्री बनेका दीपक मनाङे पदमुक्त

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री गुरुङले आफु विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङेको मन्त्री पद १० दिनमै गुमेको हो ।

मनाङे स्वयंले आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिएका थिए। मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् ।

मनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए । उनले अब सत्तापक्षीय एमालेलाई दिएको साथ कायम राख्छन् वा नयाँ सरकार बनाउने दललाई समर्थन गर्छन् हेर्न बाँकी छ ।