News Portal

  • ऐतिहासिक स्थल: “खुवालुङ” किराती पुर्खाहरु छुटिएको स्थल

    “बरू एघार दिन लगाएर भोजपुर पुगौला तर एघार मिनटका लागि एघार हजार भन्दा पुरानो हाम्रो आस्था र सांस्कृतिक धरोहरलाई नामेट गर्न कदापि दिइने छैन ।”

    हिमालीसंचार संवाददाता
    ९८९ पटक

    गत फागुन ८ गतेको दिन विराटनगरमा आयोजित कार्यक्रममा हजारौं दर्शकहरूको माझ सम्माननीय प्रधानमंत्री केपी शर्मा ओलीज्युले चतरा घाटदेखी भोजपुरसम्मको जलयात्रा मात्र ११ मिनटमै सम्पन्न गर्न सकिने तर त्यसका लागि सम्पूर्ण किरातीहरूको धार्मिक र साँस्कृतिक महत्वका धरोहर ‘खुवालुङ’ ढुँगालाई क्रेनलगाई फुटाउने र त्यो जलमार्गलाई सुगम र छोटो बनाउने तर्फ प्रक्रिया अगाडी बढाई सकेको कुरा सार्वजनिक रुपमा उद्घोष गरे लगत्तै ‘खुवालुङ’ प्रसंग नेपाली समाजमा र विशेषगरी किराती राई समुदायमा हृवात्तै तात्तिएर आएको अवस्था छ ।

    “ खुवालुङ”’ प्रसंग किन यसरी चर्चामा आयो त? यो कहाँ अबस्थित छ? यस “ खुवालुङ” को धार्मिक र साँस्कृतिक महत्व के हुन ? अहिले सम्म यो स्थान किन ओझलमा रह्यो ? अब यसलाई संरक्षण गर्न के गर्नु पर्छ ? आद, इत्यादि प्रश्नहरूलाई संक्षिप्तमा खोतल्ने प्रयास गर्नु नै यस लेखको मु़ख्य उदेश्य रहेको छ ।

    यद्यपि, “खुवालुङ” संरक्षणकालागी विगत केही वर्षदेखि किरात समुदायका सचेत र अग्रजहरू लागि परेको कुरा सार्वजनिक भएकै कुरा हो । यसैगरी, प्रधानमंत्रीज्युको ‘खुवालुङ’ फुटाउने अभिव्यक्तिपछि फागुन १२ गतेको दिन किरात राई विद्यार्थी र किरात राई लेखक संघको संयुक्त अगुवाईमा झापामा विरोध र्याली निकाल्ने लगायद सामाजिक संजाल मार्फत संसारभरीका किरात राईहरूले आफ्नो सांस्कृतिक र धार्मिक आस्थाप्रति प्रहार भएको ठहर गर्दै घोर भर्त्सना गरेका छन । समग्र किरात राईहरूको साझा संगठन ‘किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाण्डौ’ को पहलमा ‘खुवालुङ’ लाई क्षतिग्रस्त बनाउनबाट जोगाउनका लागि ‘खुवालुङ संरक्षण समिति’ गठन भई सकेको छ ।

    ॰परिचय

    किरात राई जातिको मौलिकता भनेको नै आफ्नो खास बसोबास गर्ने भूगोल, उनीहरूले प्रयोगमा ल्याउने भाषाहरू, दैनिक क्रियाकलाप, प्रकृति पुजक, साकेला ( उभौली र उधौली ) मान्ने, पुजाआजा गर्ने पवित्र स्थल तिन चुल्हालाई मान्ने, शारीरिक बनौट र मुखाकृतिमा एक ख़ास विशेषता बोकेको यस समुदायले आफुलाई यस देशको आदिम पुर्खाको संतान मान्नुमा गर्व गर्दछन । यिनै प्रकृति पुजक आदिम जाति किरात राईहरूले आफ्नो जाति, वंश र समुदायको अस्तित्वको आरम्भ बिन्दु यही ‘खुवालुङ’ लाई मान्ने विश्वास रही आएको छ । यो ‘खुवालुङ’ ढुँगा सुनसरीको बाराह क्षेत्र खासगरी सुनसरी, उदयपुर एवम् भोजपुर जिल्लाको सिमानालाई छोई बग्ने अरूण नदिको संगम, त्रिवेणीको मध्य भागमा स्थित रहेको छ। वर्षायाममा नदिको पानीको सतह उच्च रहने भएकोले खुवालुङ देखिन गाह्रो हुन्छ तर हिँउदमा यसलाई प्रष्ट अवलोकन गर्न सकिन्छ ।

    किरात राई एक बहुभाषिक समुदाय भएकोले यसलाई विभिन्न भाषामा क्रमशः खुवालुङ, वालुँग, सायालुँग, माँगलुँग इत्यादि सम्बोधन गर्ने गरिन्छ । ‘खुवा’ ‘वा’ को शाब्दिक अर्थ ‘पानी’ जनाउछ भने ‘लुङ’ शब्दले ‘ढुंगा’ जनाउछ । यसैगरी ‘साया’, ‘माँग’ शब्दहरूले ‘पवित्रता’, ‘देवता’ आदि जनाउने हुनाले यस पवित्र ढुँगालाई उपरोक्त नामले पुकारिन्छ । यसैगरी अन्य भाषिक राईलेपनि आफ्नो भाषागत शब्दहरू प्रयोग गरेको पाईन्छ ।

    ॰ धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व :

    मानव विकासको क्रममा जब सभ्यताको विकास भई नसकेको अवस्था थियो चार किराती भाईहरू मध्ये तिन भाईहरू यही ‘खुवालुङ’ लाई साक्षी राखी कोशी नदिको तिरैतिर उभो लागेको हुनाले सुनकोशी, तामाकोशी, दुधकोशी, अरूण, तम्मोर नदीको तिरैतिर किरात राई, किरात सुनुवार, किरात लिम्बुहरूले बसोबास गर्न थाले र किरात सभ्यताको विकासमा लागेको तथ्य पाईन्छ । तर, कान्छा भाईले त्यो ‘खुवालुङ’ लाई तर्न नसक्दा उसको बसोबास मधेस तिर रहन गयो र कालान्तरमा थारू, दनुवार आदिको रूपमा वहाँहरूको विकास हुँदै गएको पाईन्छ । 

    आजको मिति सम्म पनी यस प्रकारको धेरै किंवदंती र किराती लोककथाहरूमा ‘खुवालुङ’ को महिमा जीवित रहेको पाईन्छ । अर्को तर ज्यादै महत्वपूर्ण दृष्टान्त, किराती मुन्धुम भित्र प्रयोग गरिने रिसियाहरूमा यस ‘खुवालुङ’ उच्चारणमा आई रहन्छ । किराती राई जातिको पुजारीहरू – नाक्छों, धामी, माँगपाहरूले मृत आत्मालाई बाटो लगाउँदा यस ‘खुवालुङ’ को विशेषगरी उल्लेख गरेको पाईन्छ । अर्थात्, नाक्छों, धामीले – तिमी यही खुवालुङलाई प्रवेशद्वार मानी उभो लाग्नु र पित्री पुर्खाहरूले बास बस्ने ठाँउमा गएर बास बस्नु भन्दै मुन्धुमबाट फलाक्दै बाटो लगाउँद छन । यही प्रक्रिया विभिन्न भाषिक राईहरूले आ-आफ्नो भाषामा फलाक्ने गर्दछन । यस अर्थमा ‘खुवालुङ’ त्यो पवित्र स्थल हो जहाँबाट किरात राईहरूको पित्री पुर्खाहरूले आफ्नो बास स्थानलाई पछ्याउदै जान्छन ।

    किराती मौलिक धर्म र संस्कारमा स्वर्गको कल्पना गरिएको छैन । मान्छे मरेपछि स्वर्ग वा नर्क जान्छ भन्ने मान्यतालाई किराती समुदायले मान्दैन । किराती समुदायमा मान्छेको मृत्युपछि उसको आत्मा कुल पित्री भएर आफ्नो आदिम थातथलोमा बसोबास गर्दछ । र उनीहरूलाई वर्षमा दुई पटक बैशाख पुर्णे र मंशिर पूर्णिमाको छेक पारी आ-आफ्नो घरको पवित्रस्थल तिन चुल्हामा पुकारिन्छ र उनै कुलपित्रहरूलाई चुल्हामा पुकारी रहदा त्यही ‘खुवालुङ’ को मार्ग भई आउने र चुल्हामा बास गर्ने गर्दछन । पुजाआजा सके पछि पुन: तिनी कुलपित्रीहरूलाई मुन्धुम रिसिया मार्फत फलाक्दै त्यही ‘खुवालुङ’ को बाटो आफ्नो पित्रस्थलमा बसोबास गर्नकोलागी विदा गरिन्छ । एवम् प्रकारले प्रष्ट हुन्छ कि किरात राईहरूको धार्मिक मान्यता, सांस्कृतिक र आध्यात्मिक पक्षलाई सम्पन्न गर्नमा ‘खुवालुङ’ को कस्तो महत्वपूर्ण स्थान रहेको छ ।

    ॰ ’खुवालुङ’ ओझलमा परेको हो त ?

    किराती राईहरूको साझा धार्मिक, सांस्कृतिक महत्वका स्थल हिजो सम्म ओझलमा परेको कुरामा कुनै दुई मत छैन । यद्यपि धार्मिक र सांस्कृतिक अनुष्ठान सम्पन्न गर्नका लागि परम्परागत रूपमा मुन्धुम र रिसियामा मात्र किरात राई समुदायको कर्मकाण्ड सिमित रहेको हुनाले यस पवित्र स्थानको महत्व ओझलमा परेकै हो । तथापि, नाक्छों, कुलपित्री धामीले मुन्धुमी रूपमा र समाजभित्र किंवदंतीको रूपमा जीवित रही रहेको ‘खुवालुङ’ ढुंगा मात्र होईन यसको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व रहेको छ भन्ने कुराको पुष्टि हुन्छ ।

    दैनिक जीवनको भागाभागले गर्दा यस महत्वपूर्ण स्थलको संरक्षण र संवर्धन गर्नु पर्छ भन्ने सोचले धीमा गति लिएको हुन सक्छ । यस बाहेक अत्याधुनिक बन्ने होडबाजी र अन्यत्रबाट आयातित धर्मको प्रभाव र त्यसप्रति राखिने अनुराग साथै धर्मपरीवर्तनको मारले पनि ‘खुवालुङ’ को महत्व अलिक ओझलमा परेको मान्न सकिन्छ । राज्य र प्रशासनको उदासिनताको कारणपनि किरात राई समुदायले यथासमय ध्यान पुर्याउन नसकेको एक महत्वपूर्ण कारण हो । राज्यले विभिन्न गुठि खडा गरेर केही धर्मलाई काख र अन्यलाई पाखा गरेको कुरापनि सर्वविदितै छ ।

    ॰ अव के गर्ने ?

    • किरात समुदायले आफ्नो धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको ‘खुवालुङ’ क्षेत्रलाई संरक्षण गर्न र यसको स्वरूपलाई बलियो मुर्तरूप दिन अब ढीला गर्नु हुँदैन र सबै प्रतिबद्धताका साथ लागी पर्नु पर्दछ ।

    • उदयपुर, सुनसरी र भोजपुर लगायत तीनैवटा जिल्लामा बसोबास गर्ने संबधित सरोकारवाला स्थानीयहरू तदारूकताका साथ अगाडी बढ़नु पर्ने देखिन्छ ।

    • किरात राई यायोक्खा केन्द्रीय कार्य समितिले यस कार्यमा अविभावकीय भुमिकामा अगाडी बढ़नु पर्दछ ।

    • उक्त स्थलमा यथाशिघ्र नाक्छों, माँगपा, धामीहरूको एक वृहत सम्मेलन गर्नु पर्दछ ।

      वर्षमा एक पटक उभौली अथवा उधौलीको अवसर पारेर उक्त स्थलमा तर उपयुक्त ठाँउमा साकेला कार्यक्रमको आयोजन गर्नु पर्दछ ।

    • किरात मौलिक धर्मप्रति आस्था, विश्वास र प्रयोग गर्नेहरूको माझ व्यापक छलफल चलाउनु पर्दछ ।

    खुवालुङ’ संरक्षण गर्ने कार्यलाई दुई कोणबाट अगाडी बढाउनु पर्छ ।

    १. अभियानको रूपमा 

    २. परियोजनाको रूपमा 

    ‘खुवालुङ’लाई भौतिक रूपले संरक्षण गर्नका लागि भौतिक संरचना तयारी तर्फ लाग्नु पर्दछ । जसरी फेवातालको माँझ बराही मंदिरको संरचना, रानी पोखरी बिच कृष्ण मंदिरको संरचना, बीरगंजको घडीअर्वा पोखरीमाझ मंदिरको संरचना ठडाईएका छन त्यसै गरी ‘खुवालुङ’ को मुख्य ढुंगालाई खोलाको मध्य यथास्थानमै संरक्षण गरी संरचनागत निर्माण गर्ने हो भने सम्बन्धित समुदायलाई मात्र नभई सिंगो राष्ट्रलाई नै सामाजिक, धार्मिक सदभाव अभिवृद्धि साथसाथै धार्मिक पर्यटनलाई पनि टेवा पुग्ने देखिन्छ । धार्मिक र सांस्कृतिक पक्षलाई पर्यटनसंग जोडने बित्तिकै स्थानीय तवरमा प्रदेश नं. १ लाई प्रत्यक्ष लाभ नमिल्ने त कुरै छैन ।

    • खोटाङ जिल्ला स्थित हलेसी र तुवाचुँग जायजुम डाँडाले बौद्ध, किरात र हिन्दु त्रिधार्मिक संगमको रूपमा विकसित गरिए जस्तै खुवालुङ र बाराह क्षेत्र द्विधर्मको संगमको रूपमा विकसित गर्न सकेमा सम्पूर्ण किराती र हिन्दु धर्मावलम्बीहरु बिच धार्मिक र सांस्कृतिक सहिष्णुता र समावेशीताको एक अनुपम उदाहरणको जग बसाल्न सकिन्छ कि ? यसले पानी जहाजका केही सीमित व्यवसायीहरूलाई लाभ हुने भन्दापनि उक्त क्षेत्रको चौतर्फी वृहत्तर विकास गर्न सकिन्न भन्न सकिन्न ।

    • लेख, साहित्य र वहस कार्यक्रम मार्फत ‘खुवालुङ’ सम्बन्धि जनसाधारणलाई जानकारी गराउने र यसप्रकारको कार्यक्रममा व्यापकताका यसप्रति सचेतना जगाउने कार्य गर्दै जानु पर्दछ ।

    संचार क्षेत्रको महत्वलाई आत्मसात् गर्दै स्थानीय स्तर र राष्ट्रीय स्तरको टेलिभिजन, एफ एम, युट्युब आदिसंग ‘खुवालुङ’ को प्रचार प्रसारको लागि कसरी सकारात्मक तवरले सहयोग लिन सकिन्छ त्यता तिर ध्यान पुर्याउनु आवश्यक छ ।

    • देश विदेशमा बसोबास गर्नु हुने किराती एवम् गैरकिरातीबाट नैतिक, भौतिक र आर्थिक सर- सहयोग जुटाउने कार्यमा अहोरात्र खटिनु पर्ने हुन्छ। प्रारंभिक चरणमा संबंधित समुदायले हरेक प्रकारले अगाडी बढ़नु पर्ने हुन्छ। तत्पश्चात् प्रादेशिक देखि संघीय सरकार समक्ष यस परियोजनालाई लाग्नु पर्ने देखिन्छ र सरकारलाई पनि यस धार्मिक, सांस्कृतिक धरोहरलाई संरक्षण र संवर्धन गर्ने हेतु पलप्रतिपल घचघच्याई रहनु पर्ने देखिन्छ ।

    • खुवालुङ संरक्षण समितिले आफ्नो मातहतमा विभिन्न सामाजिक संजालहरूको निर्माण गर्नु पर्ने जरूरी देखिन्छ जस्तै – प्राविधिक उपसमिति, धार्मिक-सांस्कृतिक उपसमिति, आर्थिक उपसमिति, विदेश सम्पर्क उपसमिति आदि-आदि ।

    • अनौपचारिक रूपमा सम्पूर्ण किरात संघ संस्थाको एक सर्वमान्य संजाल ‘किरात समन्वय समिति’ मार्फत पनी यस महान कार्यमा अपनत्व र अविभावकत्व अभिवृद्धि गराउनका लागी घनिभुत छलफल गर्नु पर्ने देखिन्छ ।

    • खुवालुङ संरक्षणको आवाजलाई झन-झन मुखरित गर्दै, संगठित हुँदै, प्रतिबद्ध हुँदै जो जसले जसरी सहयोग गर्न सक्नु हुन्छ त्यही रूपमा अगाडी बढ़ने उपयुक्त समय आई सकेको छ । अब ढीलो गर्नु हुन्न ।

    अहिले किराती समुदायभित्र योजना बनाउन सक्ने देखि लिएर चिकित्सक, ईन्जीनियर देखि अर्थशास्त्री देखि संस्कृतिविद देखि लिएर धनपनि भएको मनपनि भएको महानुभावहरूको बाक्लो उपस्थिती रहेको छ । तसर्थ, अब कदाचित पछाडी सर्नु हुन्न । 

    “सुम्निमा-पारूहाङको आशिर्वाद लिएर हामी सबै यस अभियानमा लागी परौं र खुवालुङ संरक्षणलाई परियोजनाको रूप दिँदै यसको भौतिक संरचनालाई सम्पन्न गर्ने कार्यमा सहभागी बनौं । समय आउँछ पर्खदैन भन्ने कुराको हेक्का राख्दै अगाडी बढ़नुको विकल्प छैन – सोची बसे केही हुन्न लागी परे सफलता अवश्य प्राप्त हुनेछ ।”

    र, अन्तमा,

    “बरू एघार दिन लगाएर भोजपुर पुगौला तर एघार मिनटका लागि एघार हजार भन्दा पुरानो हाम्रो आस्था र सांस्कृतिक धरोहरलाई नामेट गर्न कदापि दिइने छैन ।”

    डा. सुमाया राई 

    पूर्व अध्यक्ष किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाण्डौ नेपाल

    हाल, बेलायत

    _______

    हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नु हुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    ओलीले “पहिले प्रचण्ड प्रयोग गरे, अहिले माधवकुमार नेपाल चिप्लाए” – राधाकृष्ण मैनाली

    काठमाण्डौ – मैले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा नै भनेको थिएँ, त्यो एकता होइन,...

    सपथ लिँदालिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भने- त्यो पर्दैन

    काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराएकी छन्।...

    सिर्जना वाचन डबलीद्वारा अतिथिहरुलाई श्रस्टा सम्मान

    आरपी सहयात्री युएई– युएईको नेपाली साहित्यिक क्षेत्रमा सक्रिय साहित्यिक संस्था सिर्जना वाचन डबलीले आफ्नो कार्यक्रममा...

    पाटीलाई थाहा नै नदिई राजेन्द्र महतो चयन भए संसदीय दलको नेता

    काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चयन...

    नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा

    रियाद – नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन्।...

     

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।