आज : २०२६-०९-०८, मङ्गलबार

बाढीमा ज्यान गुमाएकाको सम्झनामा आबुधाबीमा दीप प्रज्ज्वलन, बीएसजीको भावुक ऐक्यबद्धता

दुबही । नेपालमा गत साता आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित बीएसजी ग्रुप अफ कम्पनीले सोमबार साँझ दीप प्रज्ज्वलन गरेको छ।

आबुधाबीस्थित कम्पनी परिसरमा आयोजित शोकसभामा बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरेका थिए।

कार्यक्रममा नेपालमा हुने हरेक प्राकृतिक विपत्तिले विदेशमा रहेका नेपालीको मनसमेत विचलित बनाउने उल्लेख गर्दै बाढीमा बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धारको कामना गरिएको थियो। साथै मृतकका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

शोकसभामा बीएसजी ग्रुप अफ कम्पनीका संस्थापक डोरबहादुर कार्की तथा व्यवस्थापकहरू कुमार अधिकारी, दिनेश पुरी र रामप्रसाद ढुङ्गेल लगायतको सहभागिता रहेको थियो।

त्यसैगरी व्यवस्थापक विष्णुप्रसाद लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा कम्पनीका कर्मचारीहरू कुमार नयाँघरे, हेमन्त कार्की र तुलसा बस्याल कटुवाल लगायतको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गरेका थिए। दुःखको यस घडीमा पीडित परिवारसँग आफूहरू भावनात्मक रूपमा सँगै रहेको उनीहरूले बताएका थिए।

नेपालमा रहेका आफन्त, परिवार र मातृभूमिबाट टाढा रहे पनि देशमा हुने विपत्ति र नागरिकको पीडाले विदेशमा रहेका नेपालीलाई समेत उत्तिकै संवेदनशील बनाउने भन्दै बीएसजी ग्रुप अफ कम्पनीले दीप प्रज्ज्वलनमार्फत पीडितप्रति ऐक्यबद्धता जनाएको हो।