आज : २०२६-०९-०७, सोमबार

रतुवामाईको शिव मन्दिरमा चोरी गर्ने युवक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–९, भौडाहास्थित शर्वेश्वर शिव मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

गत असार २४ गते राति करिब १२ बजे अज्ञात व्यक्ति मन्दिरभित्र प्रवेश गरी दानपेटिका, पित्तलका मूर्तिलगायत विभिन्न सामग्री चोरी गरेको थियो। उक्त मन्दिरमा यसअघि पनि पटक–पटक चोरीका घटना हुँदै आएको बताइएको छ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा रतुवामाई नगरपालिका–८ निवासी २३ वर्षीय रोहित सहनीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका सहनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ। साथै, चोरीमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको सिजुवा प्रहरीले जनाएको छ।