आज : २०२६-०९-०७, सोमबार

झापाली समाज यूएईद्वारा रसुवा बाढीपीडितका लागि १ लाख ४३ हजार सहयोग

यूएई । झापाली समाज यूएईले रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकको राहत र उद्धारका लागि आर्थिक सहयोग गरेको छ।

यूएईमा श्रमरत झापालीहरूले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित १ लाख ४३ हजार ५ सय २२ रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको झापाली समाज यूएईका अध्यक्ष लोकेस कोइरालाले जानकारी दिएका छन्।

झापा जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता रहेको झापाली समाज यूएईको खाताबाट उक्त रकम भदौ २२ गते सोमबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले बताए।

झापाली समाज यूएईका कोषाध्यक्ष प्रेम अधिकारीको संयोजकत्वमा सञ्चालन गरिएको सहयोग अभियानमा अबुधाबीबाट सूर्यबहादुर खवास, दुबईबाट ईवनारायण तिवारी, सारजाबाट विष्णु प्रसाईं, राकबाट केशव कार्की, अल ऐनबाट प्रशान्त ताजपुरिया तथा नेपालबाट अशोक चापागाईंले समन्वय गरेका थिए।

वैदेशिक रोजगारीका क्रममा यूएई पुगेका झापालीहरूले सन् २०१५ मा स्थापना गरेको झापाली समाज यूएईले यूएईमा श्रमरत तथा समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगमा निरन्तर योगदान गर्दै आएको छ।

समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाका सबै स्थानीय तहबाट एक–एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक ५ हजार ५ सय रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ। त्यसका लागि समाजले अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त ब्याज रकममार्फत हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ।

यसैगरी, समाजले हरेक जाडो मौसममा विभिन्न सरकारी विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडासमेत वितरण गर्दै आएको छ।

यूएईको नेपाली सामाजिक परिवेशमा झापाली समाज यूएईलाई सक्रिय सामाजिक संस्थाका रूपमा लिइन्छ। संस्थाले मानवीय सहायता, शिक्षा, राहत तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।