आज : २०२६-०९-०५, शनिबार

त्रिशूलीको सुरुङमा रंगेलीका सुरज १० दिनदेखि बेपत्ता

रसुवास्थित त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि मोरङको रंगेली–५, जैनपुरका सुरज मण्डल १० दिनदेखि सम्पर्कविहीन छन्। अपर त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत मण्डल बाढीपछि आयोजनाको टनेल क्षेत्रमा सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

अशेश्वर मण्डल र ललिता मण्डलका जेठा छोरा सुरजका दुई भाइ निरज र विवेक मण्डल तथा दिदी रुक्मिणी मण्डल छन्। उनकी श्रीमती अनु कुमारी मण्डल र चार वर्षीया छोरी पनि छन्।

सुरज विगत डेढ वर्षदेखि अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए। उनी कोरियन कम्पनी दुसन इनर्जी/दुसन इन्टरप्राइजेजअन्तर्गत आयोजनामा काम गर्दै आएको परिवारले जनाएको छ।

‘बाढी आउनुअघि श्रीमानसित अन्तिम  पटक कुरा भएको थियो’।

सुरजकी श्रीमती अनुका अनुसार बाढी आएको दिन बिहान करिब ६ः३० बजे श्रीमान्सँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो।

“उहाँ अफिस जानका लागि तयार हुँदै हुनुहुन्थ्यो। दुई दिनपछि रक्षाबन्धनका लागि छुट्टी लिएर घर आउने कुरा गर्नुभएको थियो। त्यसपछि बाढी आएको खबर पाएँ। फोन गर्दा मोबाइल स्विच अफ थियो। त्यसपछि कुनै सम्पर्क हुन सकेको छैन,” अनुले भनिन्।

सुरजका सहकर्मी तथा साथीहरूसँग समेत सम्पर्क गर्ने प्रयास गरे पनि तत्काल कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।

१० दिन बितिसक्दा पनि सुरजको अवस्था यकिन हुन नसक्दा परिवार गहिरो पीडामा छ। उनी जीवित छन् वा छैनन् भन्ने कुनै निश्चित जानकारी नहुँदा परिवारका सदस्यहरू निरन्तर चिन्तामा छन्।

खोजीका लागि परिवार रसुवा पुग्यो

सुरजको खोजीका लागि उनका परिवारका सदस्यहरू रसुवा पुगेका छन्। परिवारले पाएको जानकारीअनुसार टनेलभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि अहिले दुवैतर्फबाट टनेल खन्ने काम अघि बढाइएको छ।

उद्धार प्रयास तीव्र बनाइएपछि सुरजसहित टनेल क्षेत्रमा सम्पर्कविहीन भएका अन्य व्यक्तिहरूको समेत सकुशल उद्धार हुने आशा परिवारमा पलाएको छ।

‘ढिलो भयो, अब अझै ढिला नगरियोस्’

सुरजकी श्रीमती अनुले सरकारले उद्धारका लागि पछिल्लो समय गरिरहेको प्रयासप्रति आफूहरूको विश्वास रहेको बताइन्। तर उद्धार प्रक्रिया सुरुवाती चरणमै अझ तीव्र हुनुपर्ने उनको गुनासो छ।

“सरकारले अहिले राम्रो प्रयास गरिरहेको छ। तर सुरुवातमै प्राविधिक जनशक्ति परिचालन गरेर उद्धारको काम अघि बढाएको भए अझ छिटो हुन सक्थ्यो भन्ने लाग्छ। जे ढिलो भयो, अब त्यसलाई फर्काउन सकिँदैन। तर अब कुनै ढिलाइ नगरी टनेलभित्र रहेका सबैलाई सकुशल उद्धार गरिदिनुपर्छ,” उनले भनिन्।

चार वर्षीया छोरीसमेत अहिले बाबुको पर्खाइमा छिन्। परिवारका सबै सदस्य सुरजको सकुशल उद्धारको खबर सुन्न आतुर छन्।

“१० दिनदेखि म भगवान्लाई नै सम्झिरहेकी छु। उहाँ जहाँ हुनुहुन्छ, सुरक्षित राखिदिनुस् र चाँडै घर फर्काइदिनुस् भनेर प्रार्थना गरिरहेकी छु,” अनुले भावुक हुँदै भनिन्।

सुरजको परिवार अहिले एउटै आशामा छ—टनेलभित्रबाट सुरज सकुशल बाहिर निस्किएको खबर सुन्ने।