रसुवाबाट आएको बाढीको बहाव बढेपछि त्रिशूली बजारमा उच्च सतर्कता

नुवाकोट — रसुवातर्फबाट आएको बाढीको बहाव त्रिशूली नदीमा बढेपछि नुवाकोटको त्रिशूली बजार तथा नदी आसपासका क्षेत्रमा बिहानैदेखि उच्च सतर्कता अपनाइएको छ।
प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ४:३० बजे त्रिशूली बजार क्षेत्रमा ठूलो आवाजमा नदी सुसाएको सुनिएको थियो। त्यसपछि उज्यालो हुँदै जाँदा नदीमा पानीको बहाव क्रमशः बढ्दै गएको देखिएको थियो।
बिहान ५:२० बजेतिर त्रिशूली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको स्पष्ट देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। नदीको बहाव बढेसँगै त्रिशूली नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीहरू बिहान करिब ५:३० बजे झोला–कुम्लो बोकेर सुरक्षित स्थानतर्फ सर्न थालेका थिए।
यसैबीच, भोटेकोशी नदीमा समेत बाढीको बहाव बढेको आवाज सुनिएको भन्दै नदी आसपासका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोटेकोशी तथा त्रिशूली नदीका तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।

















