अध्यक्ष भेटिँदैनन्, फोन पनि उठ्दैन’ गंगाजमुनामा बढ्दो गुनासो

धादिङ – गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामामाथि स्थानीयवासी तथा केही जनप्रतिनिधिबाट जनताको गुनासो नसुन्ने, टेलिफोन सम्पर्कमा नआउने तथा पालिकामा नियमित रूपमा नबस्ने आरोप लागेको छ।
स्थानीयवासीका अनुसार अध्यक्ष लामा अधिकांश समय धादिङबेसीमा बस्ने गरेका छन् भने गाउँपालिकामा औपचारिक कार्यक्रमका बेला मात्र पुग्ने गरेको गुनासो छ। केही स्थानीयले पाँच वर्षे कार्यकालमा अध्यक्षले आफ्नो वडासमेत नियमित रूपमा भ्रमण नगरेको दाबी गरेका छन्।
स्थानीयका अनुसार अध्यक्ष लामाको मोबाइल फोन धेरैजसो समय बन्द रहने वा खुलेको अवस्थामा पनि फोन नउठाउने समस्या रहेको छ। उनीहरूका अनुसार यसले सेवाग्राही तथा जनप्रतिनिधिबीच समन्वयमा कठिनाइ उत्पन्न गरेको छ।
हिमाली सञ्चारसँग कुरा गर्दै एक स्थानीय जनप्रतिनिधिले बेलुङ–फुलखर्क सडक कालोपत्रे कहिले हुने भन्ने प्रश्नमा प्रदेश र संघीय सरकारबाट बजेट आएमा मात्र सम्भावना रहने बताएका थिए। स्थानीयवासीले गाउँमा विकासको गति अपेक्षाअनुसार अघि नबढेको र गाउँ रित्तिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
स्थानीयको भनाइअनुसार अध्यक्षले समय–समयमा वडा भ्रमण, सर्वदलीय बैठक तथा स्थानीयसँग प्रत्यक्ष छलफल गरी जनगुनासो सुन्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप छ। आगामी करिब आठ महिनापछि जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले अध्यक्ष लामाले पाँच वर्षमा गरेका कामको मूल्याङ्कन स्थानीय तहमा हुन थालेको उनीहरूको भनाइ छ।
पालिका अध्यक्षको जिम्मेवारी के हो?
संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँपालिका अध्यक्षले पालिकाको समग्र नेतृत्व गर्ने, नीति तथा कार्यक्रम निर्माण गर्ने, गाउँसभाबाट पारित बजेट तथा विकास योजना कार्यान्वयन सुनिश्चित गर्ने, कार्यपालिका बैठकको अध्यक्षता गर्ने, विकास योजनाको अनुगमन गर्ने तथा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सरसफाइलगायत आधारभूत सेवा प्रवाह प्रभावकारी बनाउने जिम्मेवारी हुन्छ।
त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने, विपद् व्यवस्थापनमा नेतृत्व गर्ने, सुशासन प्रवर्द्धन गर्ने तथा जनगुनासोको सुनुवाइ गर्नु अध्यक्षको प्रमुख दायित्व मानिन्छ। दैनिक प्रशासनिक कामकाज भने प्रमुख प्रशासकीय अधिकृतले कानुनबमोजिम सञ्चालन गर्ने व्यवस्था रहेको छ।


















