आज : २०२६-०७-२२, बुधबार

सत्य बोल्नेलाई दबाउने संस्कार कहिलेसम्म? कुवेतको नेपाली समाजमा असन्तुष्टि चुलियो

कुवेत – कुवेतस्थित नेपाली समुदायभित्र पछिल्लो समय देखिएको मतभेदलाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न मञ्चमा बहस चुलिएको छ। केही सामाजिक अभियन्ताहरूले समाज विभाजित नभई समाजमा रहेका विकृति, विसंगति र श्रमिकका समस्याबारे खुलेर बोल्ने र त्यसलाई स्वीकार्न नचाहने पक्षबीच दृष्टिकोणको भिन्नता रहेको बताएका छन्।

उनीहरूको भनाइ अनुसार कुवेतमा करिब १ लाख ६० हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत भए पनि सीमित व्यक्तिहरूको सहभागितामा हुने गतिविधिलाई नै सम्पूर्ण समाजको प्रतिनिधित्वका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने आवश्यकता रहेको छ। समाजका सबै वर्ग र श्रमिकको हितलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।

लामो समयदेखि विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरूले घरेलु कामदार तथा श्रमिकका समस्याबारे आवाज उठाइरहेको दाबी गरे पनि त्यसको ठोस उपलब्धि देखिन नसकेको भन्दै सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्नुपर्ने आवाज पनि उठाइएको छ। नेपाल सरकार, गैरआवासीय नेपाली संघ (एनआरएनए), पत्रकार महासंघ तथा अन्य सामाजिक संस्थाहरूले संयुक्त रूपमा श्रमिकका साझा समस्यालाई प्राथमिकतामा राखी सरकारसमक्ष औपचारिक पहल गर्नुपर्ने सुझाव दिइएको छ।

साथै, नेपाली दूतावासमा स्रोत–साधन अभाव रहेको यथार्थ स्वीकार गर्दै त्यसको समाधानका लागि नेपाल सरकारसँग समन्वय, नीति सुधार तथा आवश्यक बजेट व्यवस्थापनका लागि सबै देशका प्रतिनिधिहरूले एकीकृत रूपमा पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

अभियन्ताहरूले सत्य बोल्ने, श्रमिकका पीडा सार्वजनिक गर्ने व्यक्ति वा संस्थालाई दबाउने प्रवृत्तिको अन्त्य गर्दै सामाजिक हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्न सबै पक्षसँग आग्रह गरेका छन्। उनीहरूले श्रमिकका हक–हित, सेवा प्रवाह र संस्थागत सुधारका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।