१० महिनाकी छोरीलाई ढाल बनाएर ब्राउन सुगर तस्करीको प्रयास, महिलासहित तीन जना पक्राउ

रंगेली, -मोरङको रंगेलीमा १० महिनाकी छोरी बोकेको क्यारी ब्यागमा ब्राउन सुगर (खैरो हेरोइन) लुकाएर नेपाल भित्र्याउने प्रयास गरेको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–७ की २२ वर्षीया सुष्मिता लिम्बू, रंगेली नगरपालिका–६ का २३ वर्षीय ताराचन्द मण्डल र रंगेली–७ का १८ वर्षीय आयुष साह रहेका छन्।
शनिबार रंगेली–४ स्थित नेवा टोलमा शंकास्पद अवस्थामा हिँडिरहेकी सुष्मितामाथि प्रहरीले चेकजाँच गर्दा उनले १० महिनाकी छोरी बोकेको क्यारी ब्यागको अगाडिको गोजीबाट करिब ३ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सुष्मिताले भारतबाट ल्याएको उक्त लागुऔषध ताराचन्द मण्डल र आयुष साहलाई हस्तान्तरण गर्न लागेको खुलेपछि दुवैलाई पनि पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, बच्चा बोकेको देखाएर शंका नलाग्ने मनोविज्ञानको दुरुपयोग गर्दै लागुऔषध तस्करी गर्ने नयाँ प्रवृत्ति देखिन थालेको भन्दै प्रहरीले यस्ता गतिविधिप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

















