हेटौंडा–१५ मा श्रम संस्कृति पार्टीको १९ सदस्यीय टोल समिति गठन

हेटौंडा, मकवानपुर श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै हेटौंडा उपमहानगरपालिका–१५ मा १९ सदस्यीय टोल समिति गठन गरेको छ।
समिति गठन कार्यक्रमको सभाध्यक्षता श्रम संस्कृति पार्टी हेटौंडा उपमहानगरपालिका सचिव रजिना एस. मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मकवानपुर जिल्ला उपाध्यक्ष धुर्व प्रसाद दाहाल सहभागी हुनुभएको थियो।
कार्यक्रममा जिल्ला सचिव युवराज राई, कोषाध्यक्ष गंगा बाल, जिल्ला सदस्य राहुल मगर, अम्बर भो्लोन लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण जिल्ला सचिव युवराज राईले गर्नुभएको थियो।
प्रमुख अतिथि धुर्व प्रसाद दाहालले टोल समिति नै पार्टी संगठनको आधारभूत संरचना भएकाले जनताको भावना, आवश्यकता र समस्यालाई नजिकबाट बुझ्दै संगठनलाई गाउँ–टोलसम्म सुदृढ रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
सभाध्यक्ष रजिना एस. मगरले पार्टीको संगठन विस्तार अभियानलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक टोलमा सक्रिय, जिम्मेवार र सशक्त समिति निर्माण गर्ने अभियान निरन्तर अघि बढाइने बताउनुभयो। उहाँले नवगठित समितिलाई श्रम, सेवा, सामाजिक उत्तरदायित्व तथा जनसेवामूलक कार्यमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नवगठित १९ सदस्यीय टोल समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै, श्रम संस्कृति पार्टीले आगामी दिनमा पनि मकवानपुर जिल्लाभर संगठन सुदृढीकरण र विस्तार अभियानलाई अझ तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

















