कोशीमा श्रम संस्कृति पार्टीको शक्ति प्रदर्शन: आशकुमार राईसहित ६६१ जना पार्टी प्रवेश

धरान- कोशी प्रदेशको राजनीतिमा नयाँ तरंग सिर्जना गर्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आशकुमार राईको नेतृत्वमा ६६१ जना नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
धरान उपमहानगरपालिकास्थित याक्खा भवनमा आयोजित भव्य कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका जिल्ला अध्यक्ष, प्रदेश तथा पालिका तहका पदाधिकारी, पूर्व जनप्रतिनिधि, संघ र प्रदेशका पूर्व उम्मेदवार तथा विभिन्न दलका प्रभावशाली नेताहरूले एकैसाथ श्रम संस्कृति पार्टीको सदस्यता ग्रहण गरेका हुन्। आयोजकका अनुसार यो कोशी प्रदेशमा पार्टीको हालसम्मकै सबैभन्दा ठूलो सामूहिक प्रवेश कार्यक्रममध्ये एक हो।
भोजपुरका प्रभावशाली नेता आशकुमार राईसँगै नुर्बु शेर्पा, ध्रुव छाङ्छा, सुनिल चाम्लिङ, भरत याक्खा, ईमान कुलुङ, निमा शेर्पा र पूर्ण शेर्पालगायतका नेताहरू पनि पार्टीमा प्रवेश गरेका छन्। उनीहरूसँगै प्रदेश, जिल्ला, पालिका र वडा तहका सयौँ नेता–कार्यकर्ता श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्।
लामो राजनीतिक अनुभव बोकेका आशकुमार राई पूर्व उच्च माध्यमिक विद्यालयका शिक्षकसमेत हुन्। उनले २०६९ सालमा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गर्दै भोजपुरको संस्थापक जिल्ला सचिव र पछि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। पार्टी एकीकरणपछि उनी जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्य बने भने पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए। उनी भोजपुरबाट प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा दुई पटक उम्मेदवारसमेत बनेका थिए।
कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै आशकुमार राईले नेपाललाई विदेशी राजनीतिक विचारधाराभन्दा आफ्नै माटोमा आधारित वैकल्पिक चिन्तनले अगाडि बढाउनुपर्ने बताए।
उनले भने,
“हामीले धेरै दशक विदेशी विचारधाराको अभ्यास गर्यौँ, तर जनताले अपेक्षा गरेको परिवर्तन प्राप्त गर्न सकेनौँ। अब नेपालकै माटोले जन्माएको विचार, श्रम, प्रकृति, संस्कृति र प्रविधिलाई केन्द्रमा राख्ने ‘हर्कवाद’ नै देशलाई समृद्धितर्फ लैजाने वैकल्पिक मार्ग हो।”
श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ संघीय संसद्को बैठकमा सहभागी हुनुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन्। कार्यक्रम पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागी नेताहरूले श्रम, प्रकृति, संस्कृति र प्रविधिमा आधारित वैकल्पिक राजनीतिक अभियानलाई देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टी नेतृत्वले कोशी प्रदेशबाट सुरु भएको यो अभियानले वैकल्पिक राजनीतिक शक्तिको विस्तारमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेको छ।

















