कानेपोखरीमा युवकमाथि मरणासन्न हुनेगरी कुटपिट, आरोपी अझै पक्राउ परेनन्

मोरङ-मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन चोकमा स्थानीय ३२ वर्षीय कमलबहादुर पौडेलमाथि मरणासन्न हुनेगरी कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
कानेपोखरी–२ सिद्धार्थ टोल निवासी होमबहादुर पौडेलका छोरा कमलबहादुर पौडेलमाथि केही स्थानीय व्यक्तिले निर्घात कुटपिट गरेको स्थानीयको आरोप छ। घटनामा उनको टाउको, घाँटी तथा आँखाको डिलमा गम्भीर चोट लागेको वडा अध्यक्षले जानकारी दिएका छन्।
कानेपोखरी अस्पतालले थप उपचारका लागि अन्य अस्पतालमा रिफर गर्न सुझाव दिए पनि पारिवारिक कारणवश घाइतेलाई हाल घरमै राखिएको वडा अध्यक्षले बताएका छन्।
घटनापछि घाइतेलाई तत्काल अस्पताल पुर्याउन स्थानीयले केरौन चोकमा पार्किङ गरिएका सिटी सफारी तथा टेम्पो चालकसँग सहयोग मागेका थिए। तर प्रत्यक्षदर्शीका अनुसार अधिकांश चालकले घाइतेलाई अस्पताल लैजान अस्वीकार गर्दै आफ्ना सवारी साधन त्यहाँबाट हटाएका थिए।
आपत्कालीन अवस्थामा घाइतेको ज्यान बचाउन सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै स्थानीयले चालकहरूको उक्त व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले भविष्यमा यस्ता घटनामा सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन्।
स्थानीयले घटनामा संलग्न व्यक्तिको पहिचान गरी तत्काल पक्राउ गर्न, कुटपिटको वास्तविक कारण सार्वजनिक गर्न तथा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।

















