आज : २०२६-०६-०९, मङ्गलबार

सशस्त्र प्रहरीद्वारा सुनवर्षीमा छापा, ठूलो मात्रामा अवैध सामान बरामद

मोरङ –मोरङको सुनवर्षी नगरपालिका–डाइनिया क्षेत्रमा सशस्त्र प्रहरी बलले गरेको छापामारी तथा अनुगमनका क्रममा ठूलो मात्रामा विभिन्न उपभोग्य तथा किराना सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बिओपी मायागञ्जका प्रमुख डीएसपी गोविन्द पोखरेलको नेतृत्वमा खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा डाइनिया बजारमा थोक तथा होलसेल किराना व्यवसाय सञ्चालन गर्दै आएका वरुण साहको घर तथा पसलमा छापा मारेको हो।

छापामारीका क्रममा साहको पसलबाट २३ बोरा चिनी, ३ बोरा मटर, ८ कार्टुन विभिन्न पेय पदार्थ, ३ बोरा खैनी, २ बोरा जिरा, ५ कार्टुन बिस्कुट, ५ कार्टुन लेज तथा ४ कार्टुन कुर्मुरे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी सोही क्षेत्रमा रहेका विश्वराज राजपुतको पसलमा गरिएको अनुगमनका क्रममा पनि विभिन्न सामग्री बरामद गरिएको छ। प्रहरीका अनुसार उक्त पसलबाट ५४ प्याकेट बिस्कुट, ६ कार्टुन खाने तेल, ५ बोरा मसला धुलो, २ बोरा सर्फ, १२ कार्टुन रिफाइन तेल, १ सानो बोरा सुर्ती, १ बोरा कालो प्लास्टिक झोला तथा स्प्राइट, कोक लगायतका पेय पदार्थ बरामद गरिएको छ।

बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा ती सामग्री भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

स्थानीयवासीका अनुसार डाइनिया तथा आसपासका सीमावर्ती क्षेत्रबाट पछिल्लो समय विभिन्न उपभोग्य सामग्रीको अवैध ओसारपसार बढ्दै गएको छ। सीमाक्षेत्रमा निगरानी कडा बनाइएपछि यस्ता अवैध गतिविधिविरुद्ध सुरक्षाकर्मीको अभियान थप तीव्र भएको बताइएको छ।