गंगाजमुना गाउँपालिका–५ नमुना सफा तथा स्वच्छ वडा घोषणा

धादिङ, – जेठ २४ – गंगाजमुना गाउँपालिका वडा नं. ५ लाई शनिबार एक विशेष समारोहका बीच नमुना सफा तथा स्वच्छ वडा घोषणा गरिएको छ।
वडा नं. ५ का वडाध्यक्ष कुमारबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी क्षेत्री प्रमुख अतिथि रहेका थिए। गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा, उपाध्यक्ष रामेश्वर सिंखडा तथा प्रमुख प्रशासकीय अधिकृत सञ्जयबहादुर स्याङ्तान विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा पूर्व गाउँपालिका पूर्वपालिका प्रतिनिधिहरू गाउँपालिकाका १ देखि ७ नम्बर वडासम्मका वडा अध्यक्षहरू, शान्ति नेपालका कार्यकारी निर्देशक पी.आर. शर्मा, कार्यपालिका सदस्य बुद्धिबहादुर घले र भद्रकुमारी रोकाय, वडा सदस्यहरू ऋषिश्वर अधिकारी र नानीमैया राना, विभिन्न शाखाका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दामोदर भट्ट र सुनिता थापा मगरले सञ्चालन गरेको थिए भने कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन, फिल्टर गरिएको सुरक्षित खानेपानी ग्रहण, राष्ट्रिय गान तथा शहीदहरूप्रति श्रद्धाञ्जलीस्वरूप एक मिनेट मौनधारण गरी गरिएको थियो। कार्यक्रममा वडा सरसफाई समितिका सदस्य मिनबहादुर बानियाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा मण्डली माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। वडा नं. ५ का स्थानीयवासीहरूको सक्रिय सहभागितामा अर्गानिक खाजाको समेत व्यवस्था गरिएको थियो।
कार्यक्रममा सीआरएस नेपालका परियोजना संयोजक राजेन्द्र प्रजा, कर्मचारी देवी जोशी, ग्रीन ताराकीकी प्रतिनिधि रञ्जना नहर्की, नेपाल रेडक्रस सोसाइटी गंगाजमुना उपशाखाका सभापति चेतनाथ तिमिल्सिना, वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी प्रयास नेपाल, नेपाल एसबीआई बैंक, छहारी बचत तथा ऋण सहकारी संस्था, सुनगाभा साना किसान सहकारी संस्था, फुलखर्क कृषि सहकारी संस्थाका प्रतिनिधिहरू, नेपाल टेलिभिजन, हिमाली सञ्चार, रेडियो बिहानीका सञ्चारकर्मी, इलाका प्रहरी कार्यालय गंगाजमुना तथा ग्रामीण अस्पतालका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले नमुना सफा तथा स्वच्छ वडा घोषणा गर्नु मात्र पर्याप्त नभई यसका मापदण्डहरूलाई दीर्घकालसम्म कायम राख्दै व्यवहारमा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। सरसफाई स्वच्छता तथा सुरक्षित खानेपानीको अभ्यासलाई समुदायस्तरमै संस्थागत गर्न सके मात्र घोषणाको वास्तविक उपलब्धि सुनिश्चित हुने वक्ताहरूको भनाई थियो।
वक्ताहरूले वडा नं. ५ लाई स्वच्छ, स्वस्थ, सुरक्षित तथा वातावरणमैत्री समुदायका रूपमा विकास गर्न सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस घोषणाले समग्र गाउँपालिकालाई समेत सकारात्मक सन्देश दिएको बताए।
कार्यक्रमले वडा नं. ५ लाई स्वच्छ, स्वस्थ र वातावरणमैत्री समुदाय निर्माणतर्फ थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।











