खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली, सुनबर्सी, धनपालथान, रतुवामाई, कानेपोखरी लगायतका क्षेत्रमा अहिले किसानहरू मकै भित्र्याउन व्यस्त देखिन्छन्। तर यस वर्ष बदलिँदो मौसम र लगातारको वर्षाले किसानहरूलाई चिन्तित बनाएको छ।
विगतका वर्षहरूमा मकै पाक्ने समयमा कम वर्षा हुने भएकाले किसानहरूले सहज रूपमा मकै भित्र्याउने गरेका थिए। खेतमै मकै सुकाएर सुरक्षित रूपमा भण्डारण गर्न सकिने अवस्था रहन्थ्यो। तर यस वर्ष लगातार परेको वर्षाले खेतमै राखिएको मकै भिज्ने, कुहिने तथा गुणस्तर घट्ने समस्या देखिएको किसानहरू बताउँछन्।
रङ्गेलीका किसान विजय मण्डल भन्छन्, “अघिल्ला वर्षमा मौसमले साथ दिन्थ्यो, मकै सजिलै भित्र्याउँथ्यौं। यस वर्ष पानीले हैरान बनायो, खेतमै मकै बिग्रिने डर छ।”
किसानहरूका अनुसार समयमा मकै टिप्न नपाउँदा उत्पादनमा समेत क्षति पुगेको छ। भिजेको मकै सुकाउन कठिन हुँदा व्यापारीहरूले कम मूल्यमा खरिद गर्ने गरेका छन्। यसले उत्पादन लागतसमेत उठाउन समस्या भएको उनीहरूको गुनासो छ।
कृषि क्षेत्रका जानकारहरू भने बदलिँदो मौसमीय प्रभावका कारण खेती प्रणालीमा असर पर्न थालेको बताउँछन्। उनीहरूले किसानलाई समयमै कटानी, सुरक्षित भण्डारण तथा मौसमको पूर्वजानकारी लिएर खेती व्यवस्थापन गर्न सुझाव दिएका छन्।
पछिल्ला वर्षहरूमा यी क्षेत्रका अधिकांश किसानहरूले गहुँ तथा सनपाट खेती गर्दै आएका थिए। तर सनपाट खेतीमा अत्यधिक लगानी, श्रम तथा उत्पादन लागत बढ्दै गएपछि किसानहरू मकै खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
स्थानीय कृषक सुन्द्रालाल मण्डलका अनुसार सनपाट खेतीमा मल, बीउ, सिँचाइ तथा मजदुरी खर्च अत्यधिक लाग्ने गरेको छ। उचित बजार मूल्यसमेत नपाउँदा किसानहरू निराश बनेका छन्। “मकै खेतीमा लागत र मेहनत बढी भए पनि उत्पादन राम्रो हुने र बजारमा माग उच्च भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन्,” उनले बताए।
रङ्गेलीका अर्का किसान मनोज कुमार मण्डलले भने, “पहिले हामी सनपाट खेती धेरै गर्थ्यौं, तर अहिले खर्च धान्नै मुस्किल भयो। मजदुर पाइँदैन, पाइए पनि ज्याला धेरै तिर्नुपर्छ। त्यसैले अहिले मकै खेती गर्न थालेका छौं।”
पछिल्लो समय पशुपालन व्यवसाय विस्तार भएसँगै दानाका रूपमा मकैको माग पनि बढेको किसानहरू बताउँछन्। यही कारण मकै बिक्री गर्न सहज हुने अपेक्षाले धेरै किसान मकै खेतीतर्फ आकर्षित भएका हुन्। तर मल अभाव, सिँचाइ समस्या तथा समयमै कृषि सामग्री नपाउने समस्या अझै कायम रहेको उनीहरूको भनाइ छ।
किसानहरूले सरकारले समयमै मल, बीउ तथा आवश्यक कृषि अनुदान उपलब्ध गराए उत्पादन अझै वृद्धि गर्न सकिने बताएका छन्। सीमावर्ती क्षेत्रमा मकै खेती विस्तारसँगै किसानहरूमा नयाँ आशा पलाए पनि राज्यको प्रभावकारी सहयोग आवश्यक रहेको उनीहरूको माग छ।
यस्तै, किसानहरूले बिचौलियाको घरमै पुगेर आफ्नो उत्पादन बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। सरकारले मकैको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा आफूहरू मारमा परेको उनीहरूको भनाइ छ।
“हामीले दुःख गरेर उत्पादन गर्यौँ, तर मूल्य चाहिँ अरूले तोक्छन्,” किसानहरू भन्छन्, “खेतीका सबै सामग्रीको मूल्य बढिरहेको छ, तर हाम्रो उत्पादनको मूल्य भने बढ्न सकेको छैन।”
किसानहरूले सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने, प्रत्यक्ष खरिदको व्यवस्था गर्नुपर्ने तथा बिचौलियाको नियन्त्रण घटाएर किसानमैत्री कृषि नीति लागू गर्नुपर्ने माग गरेका छन्।











