
काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई वारेसमार्फत तारिख लिन पाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई यस्तो सुविधा दिएको हो।
न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शाहलाई वारेस राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो। यससँगै अब मुद्दाको सुनुवाइको मितिमा उनका प्रतिनिधि उपस्थित भएर तारिख बुझ्न सक्नेछन्।
यसअघि भने सर्वोच्च अदालतले यस्तो सुविधा दिएको थिएन। शाहविरुद्धको अवहेलना मुद्दा करिब तीन वर्षदेखि अदालतमा विचाराधीन छ।
उच्च अदालत पाटनले हिन्दी चलचित्र प्रदर्शन रोक्न नपाइने भन्दै अन्तरिम आदेश जारी गरेपछि त्यसबारे सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन्।