
काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
संसदीय मामिला पत्रकार समाजसँग भएको छलफलका क्रममा पत्रकारहरूले संसद् भवनभित्र रिपोर्टिङ गर्दा भोग्नुपरेका विभिन्न समस्या सभामुखसमक्ष राखेका थिए। उनीहरूले छुट्टाछुट्टै प्रवेशद्वार, प्राविधिक जटिलता र सुरक्षासम्बन्धी कडाइका कारण समाचार संकलनमा असहजता भएको गुनासो गरेका थिए।
पत्रकारहरूले अन्तर्राष्ट्रिय अभ्यासअनुसार स्वतन्त्र र मर्यादित कार्य वातावरण आवश्यक रहेको पनि उल्लेख गरेका थिए। त्यसको जवाफमा सभामुख अर्यालले हाल प्रयोगमा रहेको संसद् भवन अस्थायी भएकाले केही व्यावहारिक कठिनाइ देखिएको बताए।
उनले निर्माणाधीन स्थायी संसद् भवन तयार भएपछि यस्ता समस्या स्वतः समाधान हुने विश्वास व्यक्त गरे। साथै, संसद् र प्रेसबीचको सहकार्य लोकतन्त्रका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै पत्रकारहरूको कामलाई सहज बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए।