
काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा संसदीय समितिहरूका सभापतिका लागि उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको छ।
संघीय संसदअन्तर्गत रहेका विभिन्न समितिमध्ये प्रतिनिधिसभाका १० वटा र संयुक्त दुई समितिका सभापतिहरू चयन हुन बाँकी छन्। राष्ट्रिय सभाअन्तर्गतका समितिहरूको सभापति भने यसअघि नै चयन भइसकेका छन्।
प्रतिनिधिसभाले गत चैत २७ गते विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाइसकेको छ। सोही आधारमा सभामुखले आगामी शुक्रबारका लागि सभापति निर्वाचनको मिति निर्धारण गरेका छन्।
प्रचलित व्यवस्था अनुसार सम्बन्धित समितिका सदस्यहरूले प्रस्तावक र समर्थकसहित सभापतिमा उम्मेदवारी दिन सक्नेछन्।