आज : २०२६-०८-३०, आइतबार

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। २०८२ साललाई बिदाइ गर्दै २०८३ साललाई स्वागत गर्ने क्रममा राजवंशी समुदायले विशेष महत्वका साथ यो पर्व मनाएका हुन्।

राजवंशी समुदायले आफ्नो पहिचान जोगाउने उद्देश्यले प्रत्येक वर्ष सिरुवा पर्वको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्। परम्परा अनुसार चैत ३० गते विभिन्न प्रकारका मिष्ठान तथा परिकार पकाएर सोही दिन खाने र पुनः वैशाख १ गते पनि खाने चलन रहेको छ।

त्यसैगरी, वैशाख १ गते काद सिरुवा, २ गते सिरुवा मनाइन्छ भने ३ गतेदेखि मोरङको सीमाक्षेत्रका विभिन्न थानहरूमा विशेष पूजा–पाठ तथा मेला लाग्ने परम्परा रहेको छ।

कार्यक्रममा राजवंशी समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल ताजपुरिया प्रमुख अतिथि रहेका थिए। साथै, केन्द्रीय उपाध्यक्ष बद्री नारायण राजवंशी, सोबिता राजवंशी, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले राजवंशी गीतमा नृत्य प्रस्तुत गरी मनोरञ्जनसमेत प्रदान गरेका थिए। वक्ताहरूले राजवंशी समुदायका मौलिक पर्वहरू लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नयाँ पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको बताएका छन्।

राजवंशी समुदायमा तराई क्षेत्रमा लाग्ने मेलामा युवक–युवतीबीच आपसी मनपरापछि विवाहको प्रस्ताव अगाडि बढाउने चलन समेत रहिआएको बताइएको छ।ताजपुरिया समाज कल्याण परिषद रंगेली नगर समिति र राजवंशी समाज विकास समिति रंगेली नगर समितिको संयुक्त आयोजनामा दर्बेशामा सिरुवा पर्व कार्यक्रम सम्पन्न भएको छ ।