
गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ। गोरखा दरबारको हनुमानभञ्ज्याङबाट शुक्रबार औपचारिक कार्यक्रम गरी टोलीलाई बिदाइ गरिएको हो।
कार्यक्रममा पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर तथा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालगायतले संयुक्त रूपमा झण्डा र टर्च हस्तान्तरण गरेका थिए।
सेनानी रोशन अधिकारीको नेतृत्वमा ३५ सदस्यीय टोली सहभागी रहेको पदयात्रा गोरखाबाट सुरु भई तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी पुगेर टुंगिनेछ। यात्राका क्रममा विभिन्न जिल्लामा झण्डा र टर्च हस्तान्तरण गर्दै अघि बढ्ने योजना रहेको छ।
करिब २०७ किलोमिटर दूरी आठ दिनमा पार गर्ने लक्ष्यसहित टोली वैशाख ६ गते जितगढी पुग्नेछ। त्यसको भोलिपल्ट ऐतिहासिक विजय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।
ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण गर्दै राष्ट्रिय इतिहासको जगेर्ना गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले पदयात्रा आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।