News Portal

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

५४ पटक

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको भए पनि झापामा सञ्चालनमा रहेका पाँचतारे होटलका क्यासिनोहरूमा अवैध रूपमा नेपालीहरूलाई प्रवेश गराउने क्रम बढ्दै गएको पाइएको छ। यसले स्थानीय उद्योगी–व्यवसायीहरू आर्थिक संकटमा पर्न थालेको गुनासो बढ्दै गएको छ।

बिर्तामोडस्थित पाँचतारे होटल ‘द किङ्सबरी’मा सञ्चालनमा रहेको ‘सेभेन हर्स’ क्यासिनो र मेचीनगर–धुलावारीस्थित ‘होटल मेची क्राउन’मा सञ्चालनमा रहेको ‘क्यासिनो भेगास’मा अधिकांश ग्राहक नेपाली नै हुने गरेको स्रोतको दाबी छ। कानूनले विदेशी नागरिकलाई मात्र क्यासिनोमा प्रवेश अनुमति दिए पनि यहाँ नेपालीलाई निर्वाध रूपमा जुवा खेल्न दिइएको आरोप लागिरहेको छ।

स्थानीय व्यवसायीहरूका अनुसार क्यासिनोको प्रभावका कारण केही व्यापारीहरू आर्थिक रूपमा धराशायी भई ऋणको बोझ सहन नसकेपछि आत्महत्यासम्म गर्न बाध्य भएका घटनासमेत यसअघि सार्वजनिक भएका थिए। यसले सामाजिक तथा आर्थिक संकट थप गहिरिँदै गएको देखिन्छ।

यद्यपि, क्यासिनोमा भइरहेको यस्तो गतिविधिप्रति जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय भने मौन रहेको आरोप छ। स्रोतका अनुसार क्यासिनो सञ्चालकहरूले प्रहरी र प्रशासनसँग मिलेमतो गर्दै नेपालीलाई प्रवेश गराउँदै आएको दाबी गरिएको छ। केही क्यासिनोमा पूर्व प्रहरी अधिकृतहरूलाई समेत नियुक्त गरिने गरिएको र यसले ‘सेटिङ’ मिलाउन सहज हुने बताइन्छ।

कतिपय नेपालीहरूले क्यासिनो प्रवेशका लागि भारतीय आधार कार्डसमेत बनाउने गरेको आरोप छ। साथै, सम्बन्धित निकायका पदाधिकारीहरूलाई मासिक रकम बुझाउने गरिएको दाबीसमेत स्रोतहरूले गरेका छन्। यद्यपि, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्।

स्रोतका अनुसार यी क्यासिनोहरूको व्यवस्थापन गिरिधार टण्डनले हेर्दै आएका छन्। उनमाथि प्रहरी प्रशासनसँग साँठगाँठ गरी क्यासिनो सञ्चालनलाई सहज बनाएको आरोप छ। पछिल्लो समय ‘सेभेन हर्स’ क्यासिनोमा विभिन्न विवाद र घटनाहरूसमेत बढ्दै गएको बताइएको छ। एक प्रहरी अधिकृतले नाम नछाप्ने सर्तमा टण्डनको व्यवहारका कारण प्रहरी प्रशासनसमेत हैरान हुने गरेको बताएका छन्।

उता, ‘होटल मेची क्राउन’ले क्यासिनो सञ्चालनका लागि स्थान भाडामा दिएको भए पनि क्यासिनोका गतिविधिका कारण होटलको छवि बिग्रिएको भन्दै व्यवस्थापनले असन्तुष्टि जनाएको बताइन्छ। तर, व्यवस्थापनको आग्रहलाई समेत बेवास्ता गरिएको स्रोतको भनाइ छ।

नेपालको क्यासिनो नियमावली, २०८२ अनुसार क्यासिनोमा केवल विदेशी नागरिकलाई मात्र प्रवेश र खेलको अनुमति छ। नेपाली नागरिकहरू कर्मचारी वा सरकारी निरीक्षकको रूपमा बाहेक ग्राहकका रूपमा प्रवेश गर्न नपाउने स्पष्ट व्यवस्था छ। यदि कुनै क्यासिनोले नेपालीलाई जुवा खेलाएको प्रमाणित भएमा त्यसको इजाजतपत्र रद्द हुन सक्ने कानुनी प्रावधान रहेको छ।

तर व्यवहारमा भने नेपालीहरू खुलेआम क्यासिनो प्रवेश गरी जुवा खेलिरहेको आरोप रहँदा पनि प्रहरी प्रशासनले कुनै ठोस कारबाही नगरेको देखिन्छ। यसले संरक्षण भएको आशंका बलियो बन्दै गएको स्थानीयहरूको भनाइ छ।

रातको समयमा विशेषगरी युवापुस्ता क्यासिनोतर्फ आकर्षित हुँदै जुवातासमा संलग्न भइरहेको दृश्यले सामाजिक चिन्ता बढाएको छ। सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूले क्यासिनो नियमनमा कडाइ गर्न र यस्ता गतिविधि तुरुन्त रोक्न सरकारसँग माग गरेका छन्।

स्थानीयवासीहरू भन्छन्— यदि समयमै नियमन र नियन्त्रण नगर्ने हो भने क्यासिनोले झापाको सामाजिक र आर्थिक संरचनामै गम्भीर असर पार्न सक्ने खतरा बढ्दै गएको छ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...